त्रिशूली ३ ए र कुलेखानी तेस्रोको काम सुस्त

46

असार १, २०७६

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका ‘क्रोनिक’ बनिरहेका कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली ३ ए आयोजनाबाट पछिल्लो घोषित मिति असार मसान्तमा समेत बिजुली उत्पादन सुरु हुन नसक्ने देखिएको छ ।

दुवै आयोजनाका चिनियाँ ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर काममा ढिलाइ गरेपछि घोषित मितिमा विद्युत् उत्पादन सुरु हुन नसक्ने खतरा बढेको विद्युत् प्राधिकरणका अधिकारी बताउँछन् ।

ती अधिकारीका अनुसार यी आयोजनाको विद्युत् उत्पादन मिति अझै कति पछाडि धकेलिने हो भन्न नसकिने स्थिति छ ।सन् २०१४ को अन्त्यमा निर्माण सम्पन्न गर्ने गरी ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए आयोजनाको काम सन् २०१० मा सुरु भएको हो ।

चिनियाँ ठेकेदार कम्पनी गेजुवाको लापर्बाहीले आयोजना चार वर्ष ढिला भइसकेको छ । गेजुवा र प्राधिकरणका अधिकारीहरूबीच केही समयअघि भएको छलफलपछि असार मसान्तमा माथिल्लो त्रिशूली ३ ए बाट ६० मेगावाट बिजुली उत्पादन सुरु गर्ने सहमति भएको थियो । गेजुवाले सिभिल तथा इलेक्ट्रो–मेकानिकल सबै काम सकी एउटा युनिटबाट ३० मेगावाट बिजुलीको परिक्षण उत्पादन सुरु गरिसकेको छ ।

माथिल्लो त्रिशूली ३ मा ३०/३० मेगावाट बिजुली उत्पादन गर्ने दुई युनिट छन्, जसमध्ये एउटाबाट परीक्षण उत्पादन सुरु भइसकेको छ । गेजुवाले अर्को युनिटबाट बिजुलीको परीक्षण उत्पादन सुरु गर्नुपर्ने बेला निहुँ बनाएर ढिलो गर्न खोजिरहेको प्राधिकरण स्रोतले उल्लेख गरेको छ ।

‘गेजुवाका चिनियाँ प्राविधिकहरूले नेपाल बस्ने भिसा अवधि सकियो भन्ने बहाना बनाएर काममा ढिलाइ गर्न खोजिरहेका छन्,’ प्राधिकरणका एक उच्च अधिकारीले कान्तिपुरसित भने, ‘१०/१२ दिन राम्रोसँग काम गर्ने हो भने माथिल्लो त्रिशूली ३ एको दोस्रो युनिटबाट समेत बिजुलीको परीक्षण उत्पादन गर्ने काम सकिन्छ । तर गेजुवाका उच्च अधिकारीहरूको बहानाबाजीले असार मसान्तमा बिजुली उत्पादन सुरु हुन नसक्ने हो कि भन्ने खतरा बढेको छ ।’

ती अधिकारीका अनुसार गेजुवाका प्राविधिकहरूलाई प्राधिकरणले सम्झाइरहेको छ । गेजुवाले करिब १० अर्ब रुपैयाँमा माथिल्लो त्रिशूली ३ ए निर्माण गर्न सन् २०१० मा ईपीसी मोडलमा ठेक्का लिएको थियो । ईपीसी मोडलमा आयोजना निर्माणको अवधि लम्बिए या अरू कुनै पनि कारणबाट लागत बढाउन मिल्दैन । ईपीसी मोडल हुँदाहुँदै पनि २०७२ को भूकम्पमा परी आयोजनास्थल र त्यसका संरचनामा ठूला क्षति पुगेका कारण आयोजनाको लागत झन्डै दुई अर्ब रुपैयाँ बढेको छ । आयोजनास्थल माथिको पहिरो नियन्त्रण गर्न सरकारले नेपाली सेनासमेत परिचालन गर्नुपरेको थियो ।

ठेकेदार कम्पनी गेजुवाको लापर्बाही, उसले कामै रोकी आयोजनाको क्षमता ६० बाट ९० मेगावाट बनाउन लामो समय गरेको लबिइङ, भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजना निर्धारित मितिभन्दा चार वर्ष पछाडि सम्पन्न हुने स्थितिमा पुगेको हो । त्रिशूली ३ ए भूकम्प र नाकाबन्दीले एक वर्ष र ठेकेदारको लापर्बाहीले तीन वर्ष ढिलो भएको प्राधिकरणका अधिकारीहरूको निष्कर्ष छ ।

कुलेखानी तेस्रो जलविद्युत् आयोजनासमेत चिनियाँ ठेकेदारकै लापर्बाहीकै कारण घोषित मिति असार मसान्तमा नसकिने खतरा बढेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । सन् २०११ मा सम्पन्न गर्ने गरी १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको निर्माण सन् २००८ मा सुरु भएको हो । चिनियाँ इलेक्ट्रो–मेकानिकल ठेकेदार कम्पनी जिन्रुनको लापर्बाही र गैरजिम्मेवारीले आयोजनाको निर्माण कार्य अझै सकिएको छैन । २ अर्ब ४३ करोडमा सक्ने लक्ष्यका साथ निर्माण सुरु भएको आयोजनाको लागत वृद्धि भएर ४ अर्ब ६० करोड रुपैयाँ पुगिसकेको छ ।

कुलेखानी तेस्रोको निर्माण कार्य करिब सकिएर मेकानिकलतर्फको टर्बाइनको परीक्षण सुरु भएको छ । एउटा युनिटको परीक्षण भइसकेको छ । अर्कोको परीक्षण हुन बाँकी छ । त्यसको परीक्षण सकिएपछि कुलेखानी तेस्रोमा बिजुलीको परीक्षण उत्पादन सुरु हुनेछ । अन्तिम चरणमा पुगेका बेला कुलेखानी तेस्रोमा ठेकेदारले काममा लापर्बाही गर्न थालेको जानकारी आयोजना स्रोतले दिएको छ । त्यही कारण घोषित मितिमा बिजुली उत्पादन सुरु हुन नसक्ने सम्भावना बढेको छ । ‘ठेकेदारले अन्तिम समयमा आएर काममा ठगठाग गर्न थालेको छ । ठेकेदारको लापर्बाहीले विद्युत् उत्पादन सुरु हुने मिति फेरि पछाडि धकेलिने चिन्ताजनक वातावरण बन्न लागेको छ,’ स्रोतले भन्यो ।

ठेकेदारले बाँकी सबै काम ठीकठीक ढंगले समयमै गर्ने हो भने कुलेखानी तेस्रोबाट असार मसान्तदेखि बिजुली उत्पादन गर्न सकिने आयोजनाका अधिकारी बताउँछन् । ‘दुवै आयोजनामा ठेकेदारको लापर्बाहीका कारण केही आशंका बढेको छ, दुवैबाट असार मसान्तबाटै बिजुली उत्पादन सुरु गराउन हामी सक्दो प्रयासमा छौं । त्यसमा हामी सफल हुन्छौं भन्ने विश्वास छ,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले कान्तिपुरसित भने ।

यी दुईमध्ये कुलेखानी तेस्रो जलाशययुक्त आयोजनाको क्यासकेड प्रोजेक्ट हो । यो आयोजना सम्पन्न भएपछि कुलेखानीको इन्द्रसरोवरमा वर्षायाममा जम्मा हुने पानीबाट सुक्खायाममा १ सय ४ मेगावाट बिजुली उत्पादन हुन थाल्नेछ । कुलेखानी मुलुकको एकमात्र जलाशययुक्त आयोजना हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुनेछ ।

पहिलो आयोजनाबाट विद्युत् निकालेपछि निस्किएको पानी दोस्रो विद्युत् गृहमा लगेर ३२ मेगावाट बिजुली निकालिन्छ । दोस्रोबाट निस्केको पानी तेस्रो विद्युत् गृहमा लगेर १४ मेगावाट बिजुली निकालिनेछ । कुलेखानी पहिलो आयोजना सञ्चालन हुँदा सँगै दोस्रो र तेस्रोसमेत स्वतः सञ्चालन हुनेछन् ।
बलराम बानियाँ
स्रोत:कान्तिपुर