सानिमामाई हाइड्रोपावरले ११५ मेगावाटका ३ जलविद्युत आयोजनामा १ अर्ब ८ करोड लगानी गर्ने

    1087

    काठमाडौं । गैरआवासिय नेपालीले प्रवद्र्धन गरेको सनिमामाई हाइड्रोपावर लिमिटेडले ११५ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

    कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न छैठौ वार्षिक साधारणसभाले ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनामा ४८ करोड, २८ मेगावाटको लोअर लिखुमा ४५ करोड र १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव पारित गरेको छ ।

    मध्यतमोर र लोअर लिखुमा हकप्रद सेयर निष्कासबाट प्राप्त रकम र मैलुङखोलामा गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर लगानी गर्ने भएको हो । गत आवमा कम्पनीले २८ करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

    गत आवमा गरेको नाफाबाट सेयरधनीले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि वितरण नगरेको सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । गत आवमा गरेको नाफा नयाँ जलविद्युत आयोजना बनाउन पुनरलगानी गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।

    कम्पनीको पुँजी वृद्धिपछि लाभांश कम आउने भएको हो । सानिमामाईले जलविद्युत्मा थप लगानी जुटाउन भन्दै १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता हकप्रद सेयर बिक्री गरिसकेको छ । अहिले ५ प्रतिशत लाभांश भन्दा लगानीबाट दीर्धकालमा बढी प्रतिफल आउने उनको भनाई छ ।

    कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि चुक्तापुँजी बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जलविद्युत आयोजनामा लगानी गर्नका लागि सानिमामाईले सत्प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।

    यस्तै सानिमा माई र सुनकोसी आयोजनाको प्रवद्र्धक सानिमा हाइड्रोपावरलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई सहमति दिएको छ । दुई कम्पनी गाभिएपछि सानिमाको क्षमता अझ विस्तार हुने छ । सभाले साधारण सेयरधनीका तर्फबाट भारतकुमार पोखरेल र आशिषकुमार श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

    सानिमामाईले २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । गत आवमा सानिमामाईले बिजुली बिक्री, ब्याज र विविध शिर्षकबाट गरी ८० करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

    २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको छ । नयाँ आयोजनामा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

    विकासन्युज