बाढीले जलविद्युत् आयोजना ठप्प

    1166

    तेह्रथुम । वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

    स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाइएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडकखण्डसमेत अवरुद्ध भएको छ । बुधबार साँझ परेको पानीले यहाँको २२ किलोवाट क्षमताको अमलेबेँसी लघु जलविद्युत् आयोजनाको १०० मि कुलो बगाएको आयोजनाका अध्यक्ष गोपी ढुङ्गानाले बताए ।

    यस्तै १७ किलोवाट क्षमताको फलामसाँघु लघु जलविद्युत् र २९ किलोवाट क्षमताको कोया खोला तेस्रो लघु जलविद्युत् आयोजनाको समेत कुलो बगाएपछि विद्युत् उत्पादन ठप्प भएको छ ।

    केन्द्रीय प्रसारण लाइन नपुगेको र जलविद्युत् आयोजनाको समेत उत्पादन ठप्प भएपछि खाम्लालुङ र सम्दुका बासिन्दा दुई दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादन बन्द भएपछि यहाँ सञ्चालित करिब एक दर्जन मिलसमेत ठप्प बनेका छन् ।

    यस पटक वैशाखको पहिलो साता नै आएको बाढीले २०६५ सालपछिकै सबैभन्दा ठूलो क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । बाढीले खुङ्ग्रिङ खोलाको आसपास सडक क्षति गरेपछि सडक अवरुद्ध बनेको हो । स्थानीय उपभोक्ताले आफ्नै अगुवाइ र लगानी समेतमा बनाएका आयोजना मर्मत गर्नका लागि सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । रासस