रसुवामा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको ३५ प्रतिशत काम सम्पन्न

1384

रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको ३५ प्रतिशत काम सकिएको छ । आयोजनामा अहिले बाँध क्षेत्रमा ढलान गर्ने, चट्टान काट्ने, सुरुङ खन्ने, विद्युत्गृहको संरचना निर्माण गर्ने लगायतका काम भइरहेको छ ।

आयोजनाले दिएको जानकारी अनुसार १.८ किलोमिटर लामो मुख्य सुरुङ चार ठाउँबाट खन्न सुरु गरिएको छ । आयोजनामा १ किलोमिटर लामो पेनस्टक पाइप राखिनेछ । सुरुङ र पेनस्टक पाइपको काम साउनभित्र पूरा गर्ने आयोजनाले जनाएको छ ।

विद्युतगृहको सिभिलतर्फको काम सुरु भएको आयोजनाले जनाएको छ ।  २०७८ सालभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको भएतापनि विभिन्न समस्याका कारण निर्माण कार्य प्रभावित हुँदै आएको छ । आयोजनाका अनुसार विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) र स्थानीयको अवरोधका कारण निर्माण कार्य प्रभावित बनेको हो ।

गत असोजसम्म आयोजनाको कामले गति लिन सकेको थिएन । त्यसपछि भने आयोजनाले निर्माण कार्यलाई गति दिएको छ । अबको १० महिनाभित्र उत्पादन सुरु हुने गरी काम अघि बढाइएको आयोजनाका प्रबन्धक कांगडा प्रसाईंले बताए । ‘अहिले हामीले कामलाई तिब्रता दिएका छौं’, उनले भने, ‘यही गतिमा काम हुन सकेमा १० महिनामा काम सम्पन्न हुन्छ ।’

अप्पर मैलुङ खोला हाइड्रो पावर कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । निर्धारित तालिकाअनुसार विद्युत् उत्पादन सुरु हुन नसक्ने आयोजनाले जनाएको छ । आयोजना निर्माण पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सानिमा हाइड्रो समूह अन्तर्गत निर्माण भइरहेको आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजनाले दिएको जानकारी अनुसार १ हजार ८ सय  ५५ मिटर मुुख्य सुरुङ निर्माण हुनेछ । १ हजार मिटर पेनस्टक निर्माण हुने आयोजनाले जानकारी दिएको छ । १४.३ मेगावट क्षमताको आयोजनाले २०७८ असारमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो ।

उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको थ्रिवि हवमा जोडिनेछ । त्यहाँसम्म आयोजना आफैँले प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ । थ्रिबी हबसम्म आयोजनाले करिब १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

निर्माण पूरा भएपछि आयोजनाले वार्षिक रूपमा ७ करोड ९६ लाख ७० हजार ४ सय ८३ किलोवाट घन्टा विद्युत् उत्पादन गर्नेछ । आयोजना निर्माणका लागि २०६८ भदौ २३ गते पिपिए भएको थियो । मोनलिया पावर लिमिटेडले निर्माणको जिम्मा लिएको थियो । यो कम्पनीले पछि सानिमा हाइड्रो समूहलाई नामसारी गरेको हो । २०७२ साउन १ गते निर्माण सम्पन्न गर्ने गरी मोनलियाले प्रक्रिया अघि बढाएको थियो ।

 

स्रोत : नागरिक