भोटेकोसीको पुनर्निर्माण सुरु

    1579

    सिन्धुपाल्चोक (तातोपानी) — भूकम्प र बाढी पहिरोले बाँध तथा पावरहाउस क्षतिग्रस्त भएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजनाको पुनर्निर्माण सुरु गरिएको छ ।

    आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रमरत्न स्थापितका अनुसार २२ महिनामा पूरा गर्ने लक्ष्य राखेर पुनर्निर्माण थालिएको हो । ०७१ को जुरे पहिरो गएपछि बन्द आयोजनाको उत्पादन ४ वर्षदेखि ठप्प छ ।

    जुरे पहिराले ट्रान्समिसन लाइनको टावर ढालेपछि बन्द भएको आयोजनालाई पुन: चालु गर्ने बित्तिकै ०७२ को भूकम्प र ०७३ असारको बाढीले थप क्षति गरेको थियो । पहिराले टावर ढालेको मौका पारेर प्रमुख राजनीतिक दलहरूले आयोजनाको सेयर माग गर्दै निर्माण बन्द गराएका थिए । आयोजनाले ६ प्रतिशत सेयर दिने घोषणा गरेपछि टावर निर्माण सुरु गरिएको थियो । तर, त्यसको नियमित उत्पादन गर्न नपाउँदै भूकम्पले क्षति पुर्‍याएको थियो ।

    स्थापितका अनुसार भूकम्पपछि अहिले आयोजनाका सबैजसो संरचना काम नलाग्ने भएपछि पुनर्निर्माण सुरु गरिएको हो । निजी क्षेत्रको भोटेकोसी पावर कम्पनीद्वारा निर्मित आयोजनाले सन् २००१ देखि विद्युत् उत्पादन गर्दै आएको थियो । हाल पुनर्निर्माणका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिइएको छ । सिनोले सिभिल वर्क, इलेक्ट्रोनिक र हाइड्रो मेकानिकलको सबै काम गर्नेछ । टर्बाइन र जेनेटर जडानको कामका लागि आयोजनाले अरू नै कम्पनीलाई जिम्मेवारी दिएको छ । आयोजनाले सबै संरचना बनाएर उत्पादन सुरु गर्न करिब ७ अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।

    प्राविधिकका अनुसार पुराना संरचना भत्काउनुपर्ने भएकाले नयाँ निर्माणभन्दा बढी कठिन भएको आयोजानको भनाइ छ । चीनको सीमा क्षेत्र तातोपानीको दसकिलोमा बाँध र स्थानीय झिर्पु भन्ने स्थानमा पावरहाउस रहेको उक्त आयोजनाले दैनिक करिब ८० लाखभन्दा बढी मूल्यको विद्युत् उत्पादन गर्दै आएको थियो । सुरुमा अमेरिकी लगानी रहेको उक्त आयोजनामा ९५ प्रतिशत सेयर नेपालीको छ ।

    -कान्तिपुर