महिनाभित्रै माथिल्लो मर्स्याङ्दी ‘ए’ को बिजुली

    1592

    upper-marshyangdi-intakeमाथिल्लो मर्स्याङ्दी–‘ए जलविद्युत आयोजनाले एक महिनाभित्र विद्युत् उत्पादन थाल्ने भएको छ। ५० मेगावाटको आयोजनाले शुक्रबार विद्युत् उत्पादन तयारी स्वरूप मर्स्याङ्दी र ङादी दोभानमा बनाइएको बाँधको ढोका र जलाशयका परीक्षण गरेको छ। २५/२५ मेगावाटका दुई टर्बाइनमध्ये अर्कोलाई असोज ४ गते (सेप्टेम्बर २०) सञ्चालन गर्ने योजना प्रवद्र्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले बनाएको छ।

    बाँधका ३ वटा ढोकामध्ये २ वटा ‘रेडियल गेट’ बन्द गरेर परीक्षण गरिएको थियो। आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार बाँध र जलाशय क्षेत्रको परीक्षण सफल भएको छ। आयोजना र कम्पनीसँग आबद्ध चिनियाँ अधिकारीले बाँध र जलाशय क्षेत्रको परीक्षण सफल भएको घोषणा गरेका थिए। बाँधमा सबै ढोका लगाउँदा उक्त क्षेत्रमा १ हजार २ सय मिटर माथि पानीको सतह बढ्ने छ। बाँध नजिकैको ङादी खोला वरपर ३ सय ५० मिटर पानीको सतह बढ्ने छ। ‘पानीको बहाव ठूलो भएको र टनेलबाट पानी पठाउन नमिल्ने भएकाले एउटालाई खुल्लै छोडियो,’ अधिकारीले भने, ‘इन्जिनियरहरूका अनुसार अब बाँध क्षेत्र विद्युत् उत्पादनका लागि तयार छ।’

    आयोजनाको बाँधको सिभिल र टनेलको शत प्रतिशत काम सकिएको छ। विद्युत्गृहको सिभिलतर्फ ९५ प्रतिशत, मेकानिकलतर्फ ९० प्रतिशत र इलेक्ट्रामेकानिकलतर्फ ७० प्रतिशत काम सकिएको प्रवद्र्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले जनाएको छ। कम्पनीले १३२ केभीको भुलभुले–मध्यमर्स्याङ्दी प्रसारण लाइन निर्माण गरिरहेको छ।

    आयोजनाका अनुसार टावर निर्माण भएर ४० प्रतिशत तार टाँग्ने काम सकिएको छ। ठेकेदार कम्पनी सिनो हाइड्रो रिसोर्सेसका जनसम्पर्क अधिकृत अर्जुन गुरुङका अनुसार अहिले सिभिल संरचना तर्फका केही ‘फिनिसिङ’ का काम मात्रै बाँकी छन्। ‘विद्युत्गृह भित्रको टर्बाइन जडान कार्य धमाधम भइरहेको छ,’ उनले भने, ‘कन्ट्रक्सनका कर्मचारी फिर्ता भए। अर्को युनिटका इन्जिनियर सहितका कर्मचारीले इलेक्ट्रोमेकानिकलको परीक्षण गरिरहेका छन्।’ आयोजना पूर्ण रूपमा निर्माण भइरहँदा अढाइ सय चिनियाँसहित १३ सय जनाले काम गर्थे। अहिले एक चौथाइ कामदार मात्रै छन्। यसमा चिनियाँ कामदार ५०/६० जना मात्रै छन्।

    आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी छ.। प्रवद्र्धक कम्पनीले २०७३ असोजदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरणसँग २०५२ सालमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको थियो। निर्माणकार्य भने सन् २०१३ देखि भएको थियो।

    ६ महिनाअगावै आयोजनाको निर्माण सकेर व्यावसायिक उत्पादन गर्ने सम्झौता आयोजना र ठेकेदार कम्पनीबीच रहेकामा भूकम्प र नाकाबन्दीले ६ महिना ढिला भएको आयोजनाले बताएको छ। तर, विद्युत् प्राधिकरणसँग सम्झौता मितिमा विद्युत् उत्पादन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीले जनाएको छ। रन अफ रिभर प्रकृतिको आयोजनाका लागि सुरुमा साढे १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अहिले बढेर १५ अर्ब पुग्ने अनुमान गरिएको छ।

    बाँध र जलाशय क्षेत्रको परीक्षण कार्यक्रममा पुगेका सांसद् जमिन्द्रमान घलेले तोकिएकै मितिमा विद्युत् उत्पादन गर्ने गरी काम गरेकाले यसले देशको विकासमा नयाँ आयाम थपेको बताए।

    प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले लगानीमैत्री वातावरण बनाउन र जलविद्युत्का सुरक्षामा प्रशासन प्रतिबद्ध रहेको बताए। बाहुनडाँडा र भुलभुलेको सीमा मर्स्याङ्दी र ङादी दोभानमा बाँध बनाइएको उक्त आयोजनाबाट ४ दशमलव ९ सय ५२ किलोमिटर सुरुङमार्फत भुलभुले ३ को मर्स्याङ्दी किनारमा निर्माण गरिएको गृहमा पानी खसाली विद्युत् उत्पादन गरिने छ।

    स्रोत : कान्तिपुर