भारत र बंगलादेशमा बिजुली बेच्न निजी क्षेत्र नै अघि बढ्यो

1163

असार ३, २०७६

नेपालको निजी क्षेत्र भारत र बंगलादेशमा बिजुली व्यापारका लागि बजार खोज्न आफँै कस्सिएको छ । विद्युत् आयात÷निर्यातका लागि निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले नेपाल पावर एक्सचेन्ज लिमिटेड गठन गरेका छन् ।
भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) गरिसकेको तथा बंगलादेशले पनि सन् २०४० भित्र ९ हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव गरे पनि हालसम्म कसरी व्यापार गर्ने टुंगो लागिसकेको छैन । नेपाल विद्युत् प्राधिकरणले यसका निम्ति पावर ट्रेड कम्पनी गठन गरेर अघि बढाउने भने पनि प्रक्रिया सुस्त छ । विद्युत् खरिद गर्ने एक मात्र निकाय प्राधिकरणले सीमा पुगेको भन्दै नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको टेक अर पेमा विद्युत् खरिद सम्झौता (पीपीए) बन्द गरेको छ ।

आगामी वर्षपछि विद्युत् खेर जाने भन्दै प्राधिकरणले पीपीएमा कडा गरेपछि पीपीए गरिसकेका र प्रतिक्षामा रहेका आयोजनाबाट उत्पादन हुने बिजुली खेर जान नदिन २० जलविद्युत् प्रवद्र्धक कम्पनी आफै सक्रिय भएर कम्पनी गठन गरेका हुन् । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भइसकेको कम्पनीले विद्युत् विकास विभागमा विद्युत् व्यापारका साथै प्रशारण लाइन निर्माणका लागि स्वीकृति दिनका लागि विद्युत् विकास विभागमा आवेदन समेत दिइसकेको छ । दुई करोड अधिकृत पुँजी राखेर भारत र बंगलादेशसँग विद्युत् व्यापारका लागि अघि बढ्ने उद्देश्यसहित कम्पनी स्थापना गरेर विद्युत् व्यापार र प्रसारण लाइन लगायतका लागि विभागमा आवेदन समेत दिइसकेका कम्पनी सञ्चालक समितिका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए । खेर जाने विजुली भारत र बंगलादेश विक्रीका लागि कम्पनी गठन गरेको र सरकारसँग समन्वय गरेर अघि बढ्नका लागि ऊर्जामन्त्री, सचिव, विद्युत् विकास विभागका महानिर्देशक लगायतलाई जानकारी दिइसकेको उनको भनाइ छ ।

विद्युत् व्यापार गर्न तथा प्रशारण लाइनका लागि विद्युत् विकास विभागमा निवेदन दिएर ऊर्जा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकोले सो प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ । सरकारले एक वर्षभित्र १ हजार मेगावाट, तीन वर्षभित्र ३ हजार मेगावाट उत्पादन गरिसक्ने लक्ष्य लिएको छ भने हाल ३ हजार ५ सय मेगावाट पीपीए भएर निर्माणाधीन छन् । ३ हजार मेगावाट पीपीए भएर वित्तिय व्यवस्थापनको चरणमा छन् । २० हजार मेगावाट अध्ययनसँगै पीपीएको चरणमा रहेकोले भविष्यलाई समेत लक्षित गरी बजार खोजीमा निजी क्षेत्र छ । “निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूको बजारको सुनिश्चित गर्नका लागि निजी क्षेत्रले पहल गरेर कम्पनी निर्माण गरेका हौं,” इप्पान उपाध्यक्षसमेत रहेका कम्पनी सञ्चालक सदस्य कुमार पाण्डेले भने ।

भारत तथा भारत हुँदै बंगलादेश विद्युत् व्यापारका लागि छलफल गर्नका लागि आज मंगलबार कम्पनी सञ्चालक समितिको अध्यक्ष गुरागाईं, सदस्य पाण्डे, प्रबन्ध निर्देशक आशिष गर्ग, आनन्द चौधरी, कुशकुमार जोशीका साथै कृष्ण आचार्य, सुधीर तिमल्सिना, प्रवल भट्टराई लगायतका जलविद्युत्का निजी प्रवद्र्धकहरूको टोली भारत जाँदैछ । भारतका ऊर्जा मन्त्रालय र क्रस बोर्डर हेर्ने प्रतिनिधिका साथै भारतमा विद्युत् व्यापार गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूसँग टोलीले भेट गरी छलफल गर्ने कार्यक्रम छ । माथिल्लो कर्णालीबाट उत्पादित विजुली भारत हुँदै बंगलादेश निर्यात गर्न लागिएकोमा सो निर्यात हुन सकेमा नेपालको निजी क्षेत्रलाई समेत बाटो खुल्ने भएकोले भेटको क्रममा उनीहरूले माथिल्लो कर्णालीको बिजुली निर्यातबारे पनि छलफल गर्नेछन् ।

 

भीम गौतम

स्रोत:कारोबार