अनलाइनबाटै एक्जिम कोड नविकरण गरिने

2690

 श्रावण ८, २०७७

अबदेखि एक्जिम कोड अनलाइनबाट नवीकरण गर्न सकिने भएको छ । भन्सार विभागले सोमबारदेखि स्वचालित निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) प्रणाली अनलाइनबाट सुरु गरेको हो ।

अबदेखि सेवाग्राहीले अनलाइनमार्फत घरबाटै एक्जिम कोड नवीकरण गर्न सकिने भएको हो । एक्जिम कोड नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र र नवीकरण गरिने अवधिसम्म म्याद भएको तीन लाख रुपैयाँको बैंक जमानत पेस गर्नुपर्ने व्यवस्था छ । यसरी नवीकरण गर्दा दस्तुरसमेत बुझाउनुपर्छ । यसरी बुझाउनुपर्ने विवरण पनि विभागसम्म नआइकन बुझाउन सकिने व्यवस्था भन्सारले गरेको हो ।

हालसम्म प्रयोग भएको प्रणालीमा नवीकरण दस्तुर बुझाउने, बैंक जमानत तथा कर चुक्ता प्रमाणपत्र पेस गर्ने कामका लागि भन्सार विभाग वा भन्सार कार्यालयमा भौतिक रुपमै उपस्थित हुनुपर्ने बाध्यता थियो । नयाँ प्रणालीले त्यसको पनि अन्त्य गरेको छ । घर अथवा कार्यलय जुन ठाउँबाट पनि अनलाइनामार्फत एक्जिम कोड नविकरण गर्न सकिने छ ।

अनलाइन प्रणालीको प्रयोगसँगै ३० हजारभन्दा बढी सेवाग्राहीले एक्जिम कोड नवीकरणका लागि भन्सार विभाग वा कार्यालयमा भौतिक रुपमा उपस्थित हुनु पर्दैन । यसबाट समय र लागतको बचत हुन जाने र प्रशासनलाई स्वचालित रुपमा सेवाग्राहीले स्वयम् सुविधा लिन सक्ने विभागको भनाई छ । यसका साथै विभागले पनि थोरै कर्मचारीबाट एक्जिम कोड नवीकरणको सेवा उपलब्ध गराउन सक्नेछ ।

नयाँ व्यवस्थाअनुसार नवीकरणका लागि निवेदन दिन विभागले सेवाग्राहीलाई लगइन युजर आइडी र पासवर्ड उपलब्ध गराउँछ । जसलाई विभागको वेवसाइटमा प्रविष्ट गर्नुपर्नेछ । यसैगरी नवीकरण दस्तुर कनेक्ट आईपीएसमार्फत् विद्युतीय भुक्तानी गर्न सकिन्छ । करचुक्ताको प्रमाणपत्र भने आन्तरिक राजस्व विभागबाट स्वतः प्राप्त हुनेछ । विभागले सुधार गरेको प्रणालीमा आन्तरिक राजस्व विभागको पोर्टलबाट करचुक्ता प्रमाणपत्रको विभागले विद्युतीय भिडान गर्ने व्यवस्था मिलाएको हो ।

बैंक जमानत भने सेवाग्राही आफैंले प्रणालीमा अपलोड गर्न सक्नेछन् । यी प्रक्रिया पूरा गरेपछि विभागका सेवाग्राहीले प्रमाणपत्रको विद्युतीय प्रति प्राप्त गर्छन् जसलाई प्रिन्ट गर्न सकिन्छ ।

भन्सार विभागले एक्जिम कोड नवीकरणको म्याद तीन महिनाका लागि थप गरिसकेको छ । असार मसान्तरमा नवीकरण गर्नुपर्ने कोड लकडाउनका कारण असहज भएको भन्दै समय थपिएको हो । व्यवसायीले भने ६ महिनामा थप गरिनुपर्ने माग गर्दै आएका थिए । एक्जिम कोड आयात तथा निर्यात गर्ने व्यवसायीलाई प्रदान गरिने संकेत नम्बर हो ।
एक्जिम कोड १३ अंकको हुन्छ जसको अन्त्यमा दुईवटा अंग्रेजी अक्षर पनि हुन्छन् । आयात-निर्यातका लागि एक्जिम कोड अनिवार्य हुन्छ । यसले आयात/निर्यातलाई व्यवस्थित, पारदर्शी र सरलीकृत बनाउँछ ।

स्रोत:कारोबार