विद्युत आयात र पञ्चेश्वरका विषयमा प्रधानमन्त्रीबीच छलफल हुने

    949
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणका बेला दुई देशबीच विद्युत आयात र पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा छलफल हुने भएको छ ।
    ऊर्जा मन्त्रालयले विद्युत आयात र पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिने गरि छलफल गर्ने योजना बनाएको छ । आउदो हिउँदमा विद्युतभार कटौती (लोडसेडिङ) लाई न्यून गर्न भारतबाट थप ६ सय मेगावाट बिजुली आयात गर्ने कुरालाई जोड दिन प्रस्ताव पेश गरेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए । सकारले आउदो हिउँदमा ६ सय मेगावाटसम्म बिजुली आयात गरेर लोडसेडिङ कम गर्ने बताएको छ ।
    नेपाल भारत सचिवस्तरिय जलस्रोत समितिको बैठकमा दुई देशबीच विद्युत आयातको विषयमा सहमति भएपनि प्रधानमन्त्री स्तरमा छलफल हुँदा आयात अझ सुनिश्चित हुने भएकाले प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डामा राख्न प्रस्ताव गरेको उनले बताए ।
    भारतसँग मुज्जफपुर–ढल्केबर प्रसारणलाइनबाट आयात भइरहेको बिजुलिको मूल्यमा दिन अनुरोध गर्न भनेको छ । आयात गर्ने विद्युत्को प्रतियुनिट ५ रुपैयाँ ५ पैसा (३ रुपैयाँ ४४ पैसा भारु) मा दिने सहमति गराउन प्रस्ताव गरेको छ । भारतले ८० मेगावाट बिजुली यही दरमा दिएको छ । भारतले प्रतियुनिट ८ रुपैयाँ (५ रुपैयाँ भारु) माग गरिरहेकाले प्रधानमन्त्री स्तरमा कुरा गर्न आवश्यक रहेको उनको भनाइ छ । “बंगलादेशलाई प्रतियुनिट ५ रुपैयाँ भारुमा बेचेको जिकिर गर्दे एनभीभीएन विद्युत व्यापार कम्पनीले मूल्य बढाउन प्रस्ताव गरिरहेको छ” उनले भने, “हामीले प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा भारु भन्दा नबढाउन भनेका छौं । प्रधानमन्त्रीस्तरमा छलफल भएमा यो दर अझ सुनिश्चित हुनेछ ।”
    यस्तै परामर्शदाता वापकोर्स इण्डिया लिमिटेडले तयार पारेको पञ्चेश्वरको डीपीआरका विषयमा सहमति गर्नका लागि दुई देशका प्रधानमन्त्रीबीच छलफल गर्ने कार्यक्रम ऊर्जाले तयार गरेको छ । “वापकोर्सले डीपीआर तयार गरेको छ” अधिकारीले भने, “यसलाई २ देशले स्वीकार नगरेसम्म परियोजनाको काम अघि बढ्दैन त्यसैले दुई देशबीच सहमति आवश्यक भएको छ ।”
    वापकोर्सले पञ्चेश्वरबाट ५ हजार ४० मेगावाट बिजुली उत्पादन गर्न सकिने र परियोजना बनाउन ५ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । यो लगानीमा आयोजना बनेमा प्रति मेगावाट लागत १० करोड रुपैयाँ भन्दा कम हुनेछ ।
    स्रोत : १२ खरी