राहुघाट आयोजनाको ठेक्का भारतको जयप्रकास एसोसियट्सले पायो, ४५ महिनामा बिजुली उत्पादन हुने

    2000

    काठमाडौं । राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मेबारी भारतको जयप्रकास (जेपी) एसोसियट्स लिमिटेडले पाएको छ । आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र जययप्रकाशबीच बिहीबार ठेक्का सम्झौता भएको छ । काम सुरु गरेको ४५ महिनामा आयोजना सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो ।

    ४० मेगावाट जडित क्षमता भएको आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । आयोजना ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको हो । आयोजनाको काम अगामी सन् २०२१ मा सम्पन्न हुने छ ।

    भारतको निर्यात–आयात (एक्जिम) बैंकले सहमति दिएपछि ठेकेदार परिचालन हुने आयोजना प्रमुख श्रीरामप्रसाद पाण्डेले बताए । एक महिनाभित्र सहमति लिएर ढिलोमा माघदेखि ठेकेदार परिचालन हुने उनले जानकारी दिए । इलेक्ट्रोमेकानिकल प्याकेजका लागि छिट्टै ग्लोबल टेण्डर हुने पाण्डेले बताए ।

    भारतको ऋण सहयोगमा आयोजना निर्माण हुन लागेको हो । भारतीय कम्पनीबीच प्रतिस्पर्धा गराइएको थियो । यस्तै इलेक्ट्रोमेकानिकल प्याकेज पनि भारतीयबीच नै प्रतिस्पर्धा हुने छ । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ ।

    यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट प्राधिकरणले आयोजनाको काम अघि बढाएको हो ।आरभीआरसीएलसंग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्क लगाइ निर्माण सुरु हुन लागेको हो । कार्यतालिकाअनुसार सम्झौताअनुसार आयोजना सन् २०७० सालमा आयोजनाको सकिनुपर्ने थियो ।

    नदीको बहावमा आधारित छ । यसको संभाव्यताको अध्ययन सन् १९९८ मा भइ सन् २००८ मा संभाव्यताको अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरीसकेको छ ।

    आयोजना म्याग्दीको पिप्ले, झी र डिगम गाविसमा पर्छ । जिल्लामा पर्ने सो आयोजना पोखरादेखि ८३ किलोमिटर टाढा रहेको छ । आयोजना वाग्लुङ जोमसोम राजमार्गको गलेश्वरमा रहेको छ । राहुघाट कालिगण्डकीको सहायक नदी हो । आयोजनाबाट उत्पादन हुने बिजुली २८ किलोमिटर लामो मोदीखोला सवस्टेशनमा ल्याएर राष्ट्रिय प्रशारणमा जोडिने छ ।

    स्रोत : विकासन्युज