चमेलियाको प्रसारण लाइनको परीक्षण शुरु झण्डै ११ वर्षमा सकियो आयोजना

    1198

    काठमाडौँ–  दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सबस्टेसन जोड्ने १३२ केभीको प्रसारण लाइनमा आजदेखि विद्युत् प्रभाव अर्थात् लाइन चार्ज भएको आयोजनाले जनाएको छ ।

     सन् २००७ देखि निर्माण कार्य शुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झण्डै १० वर्षपछि आजदेखि प्रसारण शुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई आज चार्ज गरेको हो ।

    उक्त मितिबाट  प्रसारण लाइनमा प्रयोग भएका टावर, तार लगायतका अन्य संरचना छुने टावरमा चढने जस्ता कार्य नगर्न आयोजनाले सूचनामार्फत सबैमा जानकारी गराएको छ । कसैले उक्त प्रतिबन्धित कार्य गरी विद्युत् दुर्घटना भई मानिस तथा पशुचौपाया क्षति भएमा आयोजनाले कुनै जिम्मेवारी नलिनेसमेत सूचनामा जनाइएको आयोजनाले जनाएको छ । १३१ किलोमिटर लामो प्रसारण लाइनमा कूल ४१२ वटा टावर रहेका आयोजना प्रमुख दाहालले जानकारी दिनुभयो ।

    उक्त प्रसारण लाइन डबल सर्किट बनाउने योजना भए पनि तत्काल सिंगल सर्किटबाट चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उहाँले बताउनुभयो ।

    चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना–ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने आयोजनाले जनाएको छ ।

    सन् २००७ मा निर्माण शुरु गरी सन् २०११ को डिसेम्बर महिनामा निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि पछिल्लो संशोधित लक्ष्य सन् २०१७ को डिसेम्बर पुर्याइएको छ । अत्यन्तै सहज र सरल तरिकाले सम्पन्न गर्न सकिने सूचीमा रहेको दार्चुलाको चमेलिया जलविद्युत् आयोजनाबाट निर्माण शुरु भएको १० वर्षपछि बिजुली बलको हो ।

    चमेलिया जलविद्युत् आयोजनाको शुरुको अनुमानित लागत रु आठ अर्ब ५० करोड थियो तर झण्डै १० वर्षको अवधिसम्म १५ अर्ब ५० करोडभन्दा बढी खर्च भएको छ । आयोजनाको सिभिल तर्फको काम सन् २००७ मा र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् २००९ को मे महिनाबाट शुरु गरिएको थियो ।

     प्रसारण लाइनतर्फ भने दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सम्मको १३१ किलोमिटर दूरीमा ४१२ टावर निर्माण गरिएका छन् । गेजुवा ग्रुप अफ कम्पनीले  काम गरेको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनीले काम गरेको आयोजनाले जनाएको छ ।

    ३० मेगावाट क्षमता रहेको चमेलिया जलविद्युत् आयोजना सरकारको पूर्ण लगानीमा निर्माण भएको हो । यो आयोजना सुदूरपश्चिमको सबैभन्दा ठूलो आयोजना हो ।

     

    स्रोत : अर्थ संसार