भारतीय राज्यमन्त्रीद्वारा अरुण तेश्रोको अनुगमन

1599

संखुवासभा– भारतका उर्जा राज्यमन्त्री आरके सिंहले संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेश्रो जलविद्युत परियोजनाको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङसहित बुधबार सेनाको हेलिकोप्टरबाट ड्यामसाईड रहेको नुमको फ्याक्सिन्दा र पावरहाउसस्थल चिचिलाको पुखुवा पुगेर उनले स्थलगत निरीक्षण गरेका हुन् । राज्यमन्त्री सिंहले हालसम्मको कामको प्रगतिका बारेमा जानकारी पनि लिएका छन् । राज्यमन्त्री सिंहले पावरहाउस स्थल पुखुवामा सुरुङ मार्गको अनुगमन गरेका छन् ।
राज्यमन्त्री सिंहले निर्धारित समय सेप्टेम्बर २०२२ भित्रै परियोजनाकोे काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेका धारणा राखेको निरीक्षणमा सहभागी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताए ।

संखुवासभामा ९ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजनाको २२ प्रतिशत कामसमेत सम्पन्न भइसकेको सतलज कम्पनीले जनाएको छ ।
निर्माणधीन अरुण तेश्रोसँगै संखुवासभामा ५ सय ५० मेगावाट क्षमताको किमाथांका अरुण, ७ सय ५० मेगावाट क्षमताको अपर अरुण र ७ सय मेगावाटको लोअर अरुणलगायत ३ दर्जन भन्दा बढी साना ठुला खोलाबाट विद्युत उत्पादनको सम्भावना रहेको पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको भनाई छ ।
राज्यमन्त्री सिंहसहितको टोलीको भ्रमणले निर्माणाधीन अरुण तेश्रो परियोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न र अनुमानित ५ सय ५० मेगावाट क्षमताको किमाथांका अरुण, ७ सय ५० मेगावाट क्षमताको अपर अरुण र ७ सय मेगावाटको लोअर अरुणको काम चाँडै शुरु हुनेमा आफू आशावादी रहेको गुरुङले बताए ।
विद्युत उत्पादनका हिसावले देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पु¥याउन सक्ने क्षमता रहेको संखुवासभामा सर्भे भएको विद्युत उत्पादन क्षमता मात्र ३ हजार मेगावाट भन्दा बढी छ । यस बाहेक सर्भे हुन बाँकी ३ दर्जन भन्दा बढी साना ठूला विद्युत उत्पादन हुनसक्ने संभावना रहेको उर्जा विज्ञ हरि बैरागी दाहालको दावी छ ।

स्रोत : कारोबार