मल्टी फ्युल प्लान्ट कुर्दै कर्मचारी

    1236

    २९ मेगावाट क्षमताको प्लान्ट दुई वर्षदेखि बन्द

    मोरङको टंकिसिनवारीमा अवस्थित मल्टी फ्युल प्लान्ट दुई वर्षदेखि बन्द हुँदा पार्टपुर्जा जीर्ण अवस्थामा पुगेका छन्। दुई वर्षदेखि प्लान्ट बन्द छ। सञ्चालन हुँदा सुनसरी–मोरङ औद्योगिक करिडोरका ५ सयभन्दा बढी उद्योगलाई राहत पुग्ने व्यवसायी बताउँछन्। भोल्टेज कम भएको बेला भोल्टेज स्थिर राख्न प्लान्टको विद्युत् प्रयोग गरिँदै आएको थियो।

    ६ वटा युनिट रहेको प्लान्टबाट फर्नेस आयल प्रयोग गरी २९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो। प्लान्टबाट उत्पादित बिजुली प्रतियुनिट ११ रुपैयाँ पर्छ। तेलको मूल्य घटेकाले प्लान्ट सञ्चालन हुँदा उद्योगलाई सस्तो विद्युत् मूल्य पर्न जाने अपेक्षा छ। घरायसी प्रयोजन र औद्योगिक करिडोरका लागि १ सय ६० मेगावाट विद्युत् आवश्यक पर्ने छ। भारतबाट आपूर्ति गरिएको बिजुली कोसी पारिका जिल्लासम्म लगिँदा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग, कलकारखानाले विद्युत् समस्या झेल्नुपरेको छ। भारतबाट १ सय २० मेगावाट बिजुली आयात भइरहेको छ।

    प्रबन्धक विनोद यादवले प्लान्ट सञ्चालनमा ल्याउन माथिल्लो निकायमा पटकपटक परिपत्र गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए। ‘६ वटा युनिटमध्ये हाल एउटा युनिट मात्रै सञ्चालन हुने अवस्थामा छ,’ उनले भने, ‘लामो समयसम्म प्लान्ट बन्द हुँदा मेसिनरी पार्टपुर्जा बिग्रने अवस्था छ।’ उनका अनुसार पाँच वर्षअघि प्लान्टको मेसिन बिग्रँदा २०६९ सालमा ९५ करोड ३५ लाख ४७ हजार लागतमा पुन: मर्मत गरिएको थियो। दुई वर्षदेखि प्लान्ट सञ्चालनमा नआए पनि प्लान्टमा १८ कर्मचारी कार्यरत छन्। एक जना कार्यालय प्रमुख, एक प्रशासन प्रमुख, लेखा प्रमुख, मेकानिकल इन्जिनियर, सिभिल इन्जिनियर, दुई सुपरभाइजर, चार जना फोरमेन, १ देखि ३ तहसम्मका टेक्निसियन ७ जना गरी १८ कर्मचारी कार्यरत छन्।

    ती कर्मचारीलाई मासिक तलबबापत ८ लाख रुपैयाँ खर्च हुन्छ। लेखा अधिकृत हृदयनारायण चौधरीका अनुसार काम नभए पनि साउन महिनादेखि तलब बढेकाले अझै खर्च बढ्ने उनले जनाए। प्लान्ट बन्द भएपछि अधिकांश कर्मचारी सरुवा गरी अन्यत्र जान थालेको प्रशासन प्रमुख महेन्द्र राईले बताए। उनका अनुसार प्लान्ट सञ्चालन हुँदा ४३ कर्मचारी कार्यरत थिए।
    स्रोत : कान्तिपुर