पीपीए दरमा थ्री गर्जेजको चासो

    1203
    पश्चिम सेती आयोजना थ्री गर्जेजको प्राविधिक टोली नेपालमा २०६८ मा सम्झौता भए पनि हालसम्म कुनै प्रगति भएको छैन
    काठमाडौँ — पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धनको जिम्मा लिएको चिनियाँ कम्पनी थ्री गर्जेजले विद्युत् खरिद दरमा चासो देखाएको छ ।
    विभिन्न बुँदामा असन्तुष्ट कम्पनीले लगानी बोर्डसँग आइतबार भएको छलफलमा विद्युत् खरिद दर बढाउनुपर्ने माग घुमाउरो रूपमा राखेको छ । आयोजनाको बारेमा आइतबार लगानी बोर्डका अधिकारीहरूसँग प्राविधिक टोलीले विद्युत् खरिद दरको पुनरावलोकन गर्नुपर्ने धारणा राखेको हो ।
    छलफलमा चिनियाँ कम्पनीका प्रतिनिधिले विद्युत् खरिद सम्झौता (पीपीए) को दरमा चासो राखेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए । ‘प्राविधिक टोलीले अप्रत्यक्ष रूपमा पीपीए दर पुनरावलोकनको कुरा झिकेको छ,’ उनले भने ।
    नेपाली पक्षसँग पटकपटक भएको अनौपचारिक संवादपछि थ्री गर्जेजका प्रतिनिधि छलफलका लागि नेपाल आएका हुन् । आयोजनाको निर्माणले गति लिन नसकेपछि नेपालको लागि चिनियाँ राजदूत यू होङले पनि थ्री गर्जेज र बोर्डबीच छलफल बढाउन पहल गरेकी थिइन् ।
    प्राधिकरणले हिउँदमा १२ रुपैयाँ ४० पैसा र वर्षामा ७ रुपैयाँ १० पैसामा बिजुली किन्ने गरी विद्युत् खरिद दर निर्धारण गरेको छ । प्राधिकरणको सञ्चालक समितिले पछिल्लोपटक यो दर तोकेको हो । वैशाख १४ गतेबाट प्राधिकरणले यो दर लागू गरेको छ । यसको दर बढाउनुपर्ने थ्री गर्जेजले घुमाउरो रूपमा माग गरेको हो । तर, उसले आफूले कुन दरमा चाहेको भन्ने खुलाएको छैन ।
    २०६८ फागुनमा थ्री गर्जेजलाई ७५० मेगावाट क्षमताको पश्चिम सेती निर्माण गर्न दिने सहमति भएको थियो । प्राधिकरण, बोर्ड र चिनियाँ कम्पनीबीच केही बुँदामा समझदारी जुट्न नसक्दा यो आयोजनाको भविष्य अनिश्चित रहँदै आएको छ ।
    आइतबारको छलफलमा नेपाली पक्षले थ्री गर्जेजसँग आयोजना निर्माणको खाका माग गरेको थियो । निर्माण खाका बुझाउन चिनियाँ पक्ष सकारात्मक देखिएको बोर्डका प्रवक्ता वाग्लेले बताए । ‘थ्री गर्जेजको प्राविधिक टोली भएकाले कुनै निर्णय भएन, छलफल मात्रै भयो,’ उनले भने, ‘यो छलफलाई सकारात्मक संकेतका रूपमा लिएका छौं ।’ थ्री गर्जेजले नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त लगानीमा आयोजना निर्माण गर्न सम्झौतासमेत गरिसकेको छ । सम्झौता अनुसार प्राधिकरणले२५ प्रतिशत लगानी गर्नुपर्नेछ । यसमा प्राधिकरण सहमत भइसके पनि चिनियाँ कम्पनीले रुचि देखाएको छैन ।
    थ्री गर्जेजभन्दा अघि यो आयोजना अस्ट्रेलियाली कम्पनी स्नोई माउन्टेन इनर्जी कर्पोरेसन (स्मेक) ले निर्माणको जिम्मा पाएको थियो । अनुमति पाएको १४ वर्षसम्म काम अघि नबढाएपछि सरकारले चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको हो ।
    स्मेकले करिब ३ करोड डलर खर्चेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । लगानी जुटाउन नसक्दा उसले २०५४ मा पाएको अनुमति २०६८ मा खारेज भएको हो । डोटी, डडेल्धुरा र बैतडीको सिमानामा रहेको जलाशययुक्त आयोजना बनाउन थ्री गर्जेजले प्राधिकरणसँग चार महिनाअघि संयुक्त लगानी सम्झौता गरिसकेको छ । दुवैतर्फका प्रतिनिधि सम्मिलित छुट्टै कम्पनी बनाएर आयोजना निर्माण गरिने सम्झौतामा छ । आयोजनाको लागि १ खर्ब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये बोर्डले थ्री गर्जेजतर्फको करिब १ खर्ब ६० अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत पनि गरिसकेको छ ।
    पश्चिम सेतीबाट ६ सय मेगावाट मात्रै विद्युत् उत्पादन हुन सक्ने, विद्युत् खरिद सम्झौता दर बढाउनुपर्ने, अहिलेसम्म आफूले गरेको खर्चलाई राष्ट्र बैंकले पुँजीकरण गर्नुपर्ने सर्त राख्दै
    थ्री गर्जेजले निर्माण प्रक्रियाअघि बढाउन ढिलासुस्ती गरिरहेको छ ।
    पश्चिम सेती निर्माणका लागि लगानी बोर्डले समन्वय गरिरहेको छ । निर्माण जिम्मा पाएको विदेशी कम्पनीका कारण तीन दशकअघिदेखि चर्चा भएको यो आयोजना अझै सुरु हुने संकेत देखिएको छैन । थ्री गर्जेजले २०६८ मा गरेको सम्झौतामा आयोजना सन् २०१४ देखि निर्माण सुरु गरी २०१९ को डिसेम्बरमा निर्माण गरिसक्ने उल्लेख छ ।
    स्रोत:कान्तिपुर