बूढीगण्डकी आयोजना डुबान क्षेत्रका जग्गाको मुआब्जा वितरण प्रक्रिया थालियो

    1431

    – आयोजनाको डुबान क्षेत्र जग्गाको दोस्रो चरण मुआब्जा वितरण नामावली आगामी साता प्रकाशित गर्ने

    मंसिर १, २०७४-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका जग्गाको दोस्रो चरण मुआब्जा वितरण प्रक्रिया थालेको छ । प्रजिअ श्यामप्रसाद भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको जग्गा प्राप्तिसम्बन्धी बैठकले आगामी आइतबारसम्म मुआब्जा पाउने जग्गाधनीको नामावली गोरखापत्रमा प्रकाशन गरी आवश्यक कागजातको माग गर्ने निर्णय गरेको हो ।

    ‘आगामी फागुन मसान्तसम्म मुआब्जा वितरण गरी सक्ने गरी धादिङतर्फ ११ हजार ४ सय ७८ कित्ता र गोरखातर्फ ११ हजार ४ सय ६२ कित्ता जग्गाका लागि १० अर्ब रुपैयाँ रकम निकासा भइसकेको छ,’ आयोजनाका संयोजक कृष्ण कार्कीले बताए । संयोजक कार्कीका अनुसार गत आर्थिक वर्षमा मुआब्जा दिएर बचेको ३४ करोड रुपैयाँ र निकासा भएको १० अर्ब रकम वितरण गरिएपश्चात् घर र बोटबिरुवाको बाहेक अपुग हुने १६ अर्ब रुपैयाँ पनि माग गरिसकेका छौं, लगातार काम गरे असारमसान्तसम्म डुबान क्षेत्रका जग्गाको मुआब्जा वितरण भइसक्नेछ ।’ डुबान क्षेत्रका ३५ सय घरधुरीलाई आयोजना स्थल वरपर नै ४४ स्थानमा जग्गा छनोट गरिसकिएको र सोही स्थानमा मुआब्जा दिइएकै दरभाउमा जग्गा अधिग्रहण गरी पुन:स्थापना गरिने लक्ष्य रहेको आयोजनाका संयोजक कार्कीले बताए ।

    दोस्रो चरणमा धादिङतर्फका साविकका ज्यामरुङ र चैनपुर गाविस र गोरखातर्फका फुजेल, नाम्जुङ र बुङकोट गाविसका जग्गाका लागि आवश्यक प्रमाणसहित उपस्थित हुन आहवान गरिनेछ । गत आर्थिक वर्षमा धादिङतर्फका १२ सय घरधुरीलाई २ अर्ब ३० करोडसहित गोरखा र धादिङमा ८ हजार रोपनीको मुआब्जा वितरण भइसकेको छ ।

    हालसम्म गोरखा र धादिङको मुआब्जा वितरण भइरहे पनि डुबान क्षेत्रका प्रमुख व्यापारिक केन्द्रहरू आरुघाट र खहरेबजारको मूल्य निर्धारण गर्न स्थानीय सरोकारवाला निकायहरू हच्केका छन् ।

    – कान्तिपुर