६७ मेगावाट क्षमताका कावेली–ए र न्यादी आयोजना निर्माण सुरु

    1154

    काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले ६७ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको एकैपटक निर्माण सुरु गर्न लागेको छ ।

    बीपीसीले ३७. ६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना शनिबारदेखि एकैपटक निर्माण सुरु गर्न लागेको हो । दुवै आयोजना आगामी सन् २०२० मा सम्पन्न गर्ने बीपीसीका प्रमुख कार्यकारी अधिकृति (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । दुवै आयोजनाका ठेकेदार छनोट भइसकेकाले निर्माण सुरु गरी ४ वर्षभित्र सम्पन्न गर्ने योजना उनले सुनाए ।

    कावेली र न्यादी दुवै आयोजनाका लागि चीनको जिज्याङ हाइड्रोपावर कन्ट्रक्सन एन्ड इक्युपमेन्ट कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता भएको छ । कावेलीमा जीज्याङले सिभिल निर्माणमात्र गर्नेछ भने न्यादीमा सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल आपूर्तिको काम पनि उसैले गर्ने सम्झौता भएको श्रेष्ठले बताए । न्यादी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारूपमा आयोजनाको निर्माण सुरु भएको छ ।

    कावेली बनाउन करिब १० अर्ब र न्यादीमा ६ अर्ब रुपैयाँ लाग्नेछ । कावेली १० अर्ब रुपैयाँभन्दा कम लगानीमा सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए । कावेलीमा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त कर्पोरेशन (आईएफसी) को ऋण लगानी छ । यस्तै, न्यादीमा एभरेष्ट बैंकको अगुवाइमा ऋण लगानी भएको छ । कावेली आयोजना महँगो भएको छ । कावेलीको प्रतिमेगावाट लागत २६ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस्तै, न्यादीको प्रतिमेगाावाट २० करोड रुपैयाँ छ ।

    बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ ।

    एफपीओ निष्कासन गर्दै 

    दुई आयोजनालाई थप रकम जुटाउन बीपीसीले प्रिमियम दरमा थप निष्कासन (एफपीओ) गर्ने भएको छ । उसले ४० लाख कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ चाँडै निष्कासन गर्ने सीईओ श्रेष्ठले जानकारी दिए ।

    धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो ।

    सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेको २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी गरिसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ ।

    बीपीसीले १ सय मेगावाटको लोअर मनाङ मस्र्याङदी र साढे ८ मेगावाटको चिनोखोला आयोजना अघि बढाउँदैछ । लोअर मनाङको उत्पादन अनुमतिपत्र लिने क्रममा छ । चिनोको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिमा छ ।

    यस्तै, कम्पनीले चुक्तापुँजी बढाउने भएको छ । हाल कायम रहेको २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुर्याउने तयारी बीपीसीको छ ।

    कम्पनीले गत गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर दिएको छ ।

    स्रोत:बाह्रखरी