गर्जाङ उपत्यकाको विद्युत् माघभित्रै उत्पादन हुने

    1247

    श्याम खतिवडा/नयाँ पत्रिका चरिकोट,

    २ माघ दोलखाको दक्षिणी सिमानास्थित गर्जाङ उपत्यकामा निर्माणाधीन गर्जाङ हाइड्रोपावर कम्पनीले माघभित्रै विद्युत् उत्पादन गर्ने भएको छ । गर्जाङ उपत्यका हाइड्रोपावर कम्पनीले प्रवद्र्धन गरेको २.८३ मेगावाटको चाकेखोला साना जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजना रामेछापको चुचुरे गाविसमा निर्माणाधीन छ।

    आयोजनाको हेडवक्र्सको बाँध, इन्टेक, बालुवा थिग्र्याउने पोखरीलगायतको काम पूरा भएको छ । आयोजनाले इन्टेक चुचुरे–४ नयाँ वनबाट २ हजार ७ सय मिटर कुलो निर्माण गरी १ हजार ६ सय ५० मिटर पेनस्टक पाइपमार्फत पानी ल्याएर गर्जाङ बजारनजिकै विद्युत्गृहमा खसाल्नेछ ।

    गर्जाङ उपत्यका हाइड्रोपावर कम्पनीका अध्यक्ष रवि श्रेष्ठका अनुसार अहिले पेनस्टक पाइप जडान र विद्युत्गृहमा उपकरण जडानको काम जारी छ । पेनस्टक पाइप जडानको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । उपकरण जडान र परीक्षणका लागि ९० दिनजति लाग्ने उनले बताए ।

    आयोजनाले गर्जाङदेखि जिरीसम्मको १० किलोमिटर ३३ केभी प्रसारण लाइनसमेत आफैँले निर्माण गरेको छ । खिम्ती–गर्जाङ १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि आयोजना आफैँले जिरीसम्मको प्रसारण लाइन निर्माण गरेको हो ।

    एक वर्षअघि आयोजनाको काम पूरा गर्ने लक्ष्य राखेर काम सुरु गरेको भए तापनि ०७२ सालको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण आयोजना एक वर्ष ढिला भएको हो । आयोजनामा नेपाल बैंक र प्रभु बैंकले ३० करोड ऋण लगानी गरेका छन् । आयोजना पूरा हुँदासम्म ५० करोड खर्च हुन सक्ने प्रवद्र्धक कम्पनीका अध्यक्ष श्रेष्ठले बताए ।

    आयोजनाले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि सेयरसमेत जारी गर्ने तयारी गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत अर्थात् २ करोडबराबरको २ लाख कित्ता सेयर जारी गर्न लागेको बताइएको छ ।

    पहिलो चरणमा स्थानीय बासिन्दालाई सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन गरे पनि धितोपत्र बोर्डबाट स्वीकृति पाउन बाँकी रहेको आयोजनाले जनाएको छ । त्यस्तै गरी दोस्रो चरणमा आमसर्वसाधारणका लागि ४ करोडबराबरको ४ लाख कित्ता सेयर जारी गर्ने तयारी छ । आयोजनाको सेयर पुँजी २० करोड रहेको छ । सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति भइसकेको आयोजनाले जनाएको छ ।

    स्रोत:नयाँपत्रीका