वीरगन्जका उद्योगी भन्छन् :नियमित विद्युत् दिनुस राजस्व दोब्बर हुन्छ

    2056

    वीरगन्ज । मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग गरेका छन् ।

    विगत वर्षमा हिउँदको समयमा विद्युत्को अभावमा आधा क्षमतामा मात्रै उद्योग व्यवसाय चलाउँदै आएका उद्योगी व्यवसायीले यसवर्ष भने दैनिक २० घन्टा विद्युत् पाएका छन् तर भोल्टेजको समस्याका कारण हैरानी खेप्नुपरेको भन्दै उनीहरुले सो समस्या समाधान गर्न आग्रह गरेका छन् ।

    नेपाल विद्युत् प्राधिकरणले चाहेजति विद्युत् उपलब्ध गराउनसक्ने हो भने तत्काल एक हजार मेगावाट भन्दा बढी विद्युत् खपत हुनसक्ने देखिएको छ ।

    विद्युत्को अभावमा वर्षौ खुम्चिएर बसेका उद्योगीले पछिल्लो दिनमा नियमित विद्युत् पाएपछि खुसी व्यक्त गर्दै भनेका छन् ‘‘वीरगन्ज सहर फेरि गुल्जार हुने दिन आउँदैछ, मात्रै विद्युत् जरुरी छ ।’’उद्योगी व्यवसायीले प्राधिकरणको प्रसारण लाइनमा पटक÷पटक ट्रिप हुने, भोल्टेजको खराबीका कारण उपकरण जल्ने गरेको भन्दै समस्या समाधान हुनुपर्नेमा जोड दिएका हुन् ।

    उनीहरुले शुद्ध विद्युत् सेवा प्राप्त गर्ने हो भने एकाध वर्षमा मुलुकलाई आर्थिक आत्मनिर्भरता प्रदान गर्नसक्ने तथा हजारौँलाई रोजगारी दिनसक्ने समेत बताएका छन् ।

    उद्योगीले निर्माण सम्पन्न हुने चरणमा रहेको रक्सौल–परवानीपुर प्रसारण लाइनबाट भित्रने ५० मेगावाट विद्युत् वीरगन्जलाई नै उपलब्ध गराइदिन समेत आग्रह गरेका छन् ।

    दुई वटा मात्रै टावर निर्माण गर्न बाँकी रहेको सो प्रसारण लाइनको काम यही माघ १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले राखेको छ ।

    सानो भन्दा सानो समस्या पर्दा समेत नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय हेटाँैडा दौड्नुपर्ने बाध्यतामा रहेको भन्दै उद्योगी व्यवसायीले समस्या समाधान गरिदिन समेत ऊर्जा मन्त्री, ऊर्जा सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको ध्यानाकर्षण गराएका हुन् ।

    वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडिया उद्योगी व्यवसायीको मागअनुसार विद्युत् उपलब्ध गराउनुपर्ने बताउँछन् । अध्यक्ष केडिया औद्योगिक नगरिलाई काठमाडौँ उपत्यकालाई जस्तै विद्युत्भार कटौतीमुक्त बनाउनुपर्नेमा जोड दिन्छन् ।  रासस