ऊर्जामा निजी क्षेत्रको २ खर्ब ७० अर्ब लगानी

    2581

    काठमाडौ, भाद्र १८ –

    Royality_of_hydro_power_projectsसर्वसाधारणले भोग्नुपरेको लोडसेडिङको अवस्था हेर्दा ऊर्जा क्षेत्रमा निकै न्यून लगानी भएजस्तो देखिन्छ । तर उद्योग विभागको तथ्यांक हेर्दा औद्योगिक क्षेत्रमा भएको लगानीको करिब ४३ प्रतिशत लगानी ऊर्जामूलक उद्योगमा भएको छ ।

    सर्वेक्षण सकेर उत्पादनको चरणमा गएका जलविद्युत् आयोजना उद्योग विभागमा दर्ता हुनुपर्छ । विभागको तथ्यांकअनुसार निर्माणधीन र विद्युत् उत्पादन गरिसकेका आयोजनामा मात्रै हालसम्म २ खर्ब ६९ अर्ब ७३ करोड लगानी भएको छ । हालसम्म उद्योग विभागले वर्गीकरण गर्ने औद्योगिक क्षेत्रमध्ये ऊर्जाको लगानी सबैभन्दा बढी हो । विभागका अनुसार ऊर्जामूलक उद्योगको संख्या भने १ सय ८४ मात्रै हो ।

    संख्यात्मक रूपमा कम भए पनि रकममा बढी लगानी ऊर्जामूलकमा देखिएको विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले बताए । ‘एक जलविद्युत् आयोजना बनाउन अर्बौं लाग्छ । कम लगानी गर्न खोज्नेले यो क्षेत्रमा हात हाल्दैनन्,’ उनले कान्तिपुरसित भने, ‘विभागमा रेकर्डमा भएको लगानी रकम उनीहरूले आयोजना स्थलमा गर्नेभन्दा अझ कम हो । दर्ता प्रक्रियामा बढी लगानी देखाउदा दस्तुर पनि बढी लाग्ने भएकाले लगानीकर्ताले वास्तविकभन्दा कम देखाउने गरेका छन् ।’

    तथ्यांकअनुसार हालसम्म औद्योगिक क्ष्ाेत्रमा ६ खर्ब १९ अर्ब लगानीको प्रतिबद्धता आएको छ । विभागले कृषि तथा वन, निर्माण, उत्पादनमूलक, खनिजजन्य, सेवा, पर्यटन र ऊर्जामूलक उद्योगको शीर्षक विभाजन गरी उद्योग दर्ता गर्छ ।

    विभागका अनुसार आर्थिक वर्ष ०४७/४८ मा पहिलो पटक २ करोड ३४ लाख रुपैयाँ लगानीमा एक मात्रै ऊर्जामूलक उद्योग दर्ता भएको थियो । त्यसपछिका आर्थिक वर्ष ०४९/५०, ०५१/५२ मा क्रमशः २ र १ वटा उद्योग दर्ता भए । त्यसपछिका ४ वर्षमा एउटा पनि ऊर्जामूलक उद्योग दर्ता भएनन् । एकै पटक ०५६/५७ देखि मात्रै यसमा निजी क्षेत्रको लगानी बढ्दै गएको छ । ०६९/७० मा सबैभन्दा बढी ऊर्जामूलक उद्योग दर्ता भएका हुन् ।

    उक्त वर्षमा ७० वटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् । ती उद्योगमा ८६ अर्ब ५३ करोड रुपैयाँ लगानीको प्रतिबद्धता छ । ‘दर्ता भएका ती उद्योगले विद्युत् उत्पादन गर्न भने निकै समय लाग्ने छ,’ महानिर्देशक राजवंशीले भने ।

    विभागका अनुसार गत वर्षसम्म दर्ता भएका ऊर्जामूलक उद्योगमा १९ हजार २ सय ६२ जनालाई रोजगारी दिने प्रतिबद्धता छ । ती उद्योगमध्ये ५७ वटामा विदेशी लगानी -एफडीआई) को प्रतिबद्धता देखिन्छ । उक्त उद्योगमा गत आर्थिक वर्षको मसान्तसम्ममा २३ अर्ब २० करोड ६७ लाख रुपैयाँ विदेशी लगानी छ ।

    विदेशी लगानी भएका ऊर्जामूलक उद्योगले आफ्नो लगानी बराबर ८ हजार ९ सय ४५ जनालाई रोजरागीको प्रतिबद्धता जनाएको तथ्यांकले देखाउँछ । उक्त तथ्यांक विभागमा दर्ता हुने ३ करोड रुपैयाँभन्दा बढी लगानीको मात्रै हो । तीन करोड रुपैयाँभन्दा कम लगानीको उद्योग साना तथा घरेलु विकास कार्यालयमा दर्ता हुन्छन् । तर कुनै पनि ऊर्जामूलक उद्योग ३ करोड रुपैयाँभन्दा कम लगानीमा सञ्चालन गर्न सक्ने सम्भावना नभएकाले उक्त तथ्यांक नै निजी क्षेत्रको वास्तविक लगानी भएको विद्युत् विकास विभागका प्रवक्ता गोकर्ण पन्थले बताए ।

    पन्थका अनुसार विभागमा दर्ता भएमध्येका ३७ वटा ऊर्जामूलक उद्योगले विद्युत् उत्पादन सुरु गरिसकेका छन् । ‘७७ वटा उद्योगले जेनेरेसन लाइसेन्स लगेका छन् । ती उद्योगले विद्युत् उत्पादनका लागि पूर्वाधार निर्माणको काम सरिरहेका छन्,’ पन्थले भने, ‘उद्योग विभागमै दर्ता गरेर निर्माणको लाइसेन्स प्राप्त गरेका ४ वटाको लाइसेन्स केही समयअघि खारेज भएको छ । विभागमा दर्ता भएर बाँकी रहेका अन्य उद्योग भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फतका हुन् ।’

    उनका अनुसार १ मेगावाटभन्दा कम क्षमताका उद्योग वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विभागमा दर्ता हुन्छन् । ती उद्योगले पनि उद्योग विभागमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने भएकाले निजी क्षेत्रको वास्तविक लगानी नै २ खर्ब ६९ अर्ब रुपैयाँ रहेको सरोकारवालाको दाबी छ । उनीहरूका अनुसार पाँच सय मेगावाटभन्दा बढी क्षमताका उद्योग लगानी बोर्डमा दर्ता हुन्छ ।

    ‘निजी क्षेत्रभन्दा बाहेक सरकारले जलविद्युत्मा पनि लगानी गरेको छ । सरकारले जलविद्युत्मा लाइसेन्स लिने र उद्योग दर्ता गर्नु पर्दैन,’ प्रवक्ता पन्थले भने, ‘त्यसैले विभागमा दर्ता भएका ऊर्जामूलक उद्योगको तथ्यांक निजी क्षेत्रले लगानी गरेमध्येको मात्रै हो ।’

    Source : Ekantipur