वित्तीय तथा उर्जा क्षेत्र सुधार नीति कार्यान्वयनकोलागि सम्झौता

    1491

    विश्व बैंकवाट नेपाललाई वित्तीय तथा उर्जा क्षेत्र सुधार नीति कार्यान्वयनको लागि अमेरिकी डलर २०० मिलियन सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्झौतामा आज हस्ताक्षर सम्पन्न भयो । उक्त रकम बजेटरी सहायताको रुपमा परिचालन हुनेछ । अर्थमन्त्री डा युवराज खतिवडा तथा विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर चिम्याओ फ्यानले विश्व बैंक तथा अन्तर्राष्टिय मुद्रा कोषको बार्षिक बैठककै अवसरमा इण्डोनेशियाको बालीमा एक समारोहका बीच हस्ताक्षर गरे ।

    उक्त अवसरमा अर्थ मन्त्री डा खतिवडाले विश्व बैंकले नेपाललाई प्रदान गरेको सहयोगको सराहना गर्दै नेपालको पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका सामाजिक क्षेत्र र पर्यटन क्षेत्रको विकासमा नेपाललाइ थप स्रोतको आवश्यकता भएकोले आगामी दिनमा सहयोग अझ बृद्धि हुने विश्वास व्यक्त गरे । साथै उनले नेपालमा थप राजस्व परिचालनका सम्भावनाहरु कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भुकम्प पश्चातको पुनर्निमाण कार्य जारी रहेको र सोको लागि आवश्यक स्रोतको कमी भएको कुरा जानकारी गराए ।

    सो अवसरमा निजी क्षेत्रको लगानीमा रहेका नीतिगत अवरोधलाई हटाउदै लगानीको लागि उपयुक्त वातावरण निर्माण गर्न नीति कार्यान्वयन सहयोग गर्ने सम्वन्धमा विकासका लागि अधिकतम वित्त लगानी गर्ने गरी कार्ययोजना तयारी गर्ने सम्वन्धमा छलफल भयो । नेपालले अवलम्वन गरेका आर्थिक तथा नीतिगत सुधारप्रति सन्तोष व्यक्त गर्दै विश्व बैंकका उपाध्यक्ष सेफरले विश्व बैंकको अन्तर्राष्ट्रय विकास संस्थामार्फत परिचालन हुने अगामी अवधिमा सहायता वृद्धि हुने वताए ।
    आजै नेपाली प्रतिनिधिमण्डल र अन्तर्राष्टिय वित्त निगमका प्रमुख संचालन अधिकृत स्टेफनी भोन फ्राइडवर्ग सहितको प्रतिनिधिमण्डलबीच द्धिपक्षीय सहयोग अभिबृद्धि गर्ने विषयमा छलफल सम्पन्न भयो । उक्त छलफलमा माथिल्लो त्रिशुली ए विद्युत आयोजनालाई यथाशिघ्र कार्यान्वयनमा लैजाने उर्जा, पर्यटन तथा शहरी पूर्वाधार विकासका आयोजनाहरुमामा आगामी दिनमा निजी क्षेत्रमार्फत थप लगानी परिचालन गर्ने विषयमा समेत प्रतिवद्धता व्यक्त भयो ।

     

    स्रोत: कारोबार