बुटवल पावर कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, १० फागुन २०७३)

    3286

    परिचय
    नेपाली हाइड्रोपावर क्षेत्रमा ५० वर्षमाथिको इतिहास बोकेको एकमात्र कम्पनी बुटवल पावर कम्पनी लिमिटेड सन् १९६५ मा प्राइभेट कम्पनीको रूपमा स्थापना भएको थियो । सन् १९९३ मा पब्लिकमा रूपान्तरण भएको यस कम्पनीलाई सरकारीबाट सन् २००३ मा निजीकरण गरिएको थियो । हाल यस कम्पनीको शेयर स्वामित्व निम्नानुसार रहेको छ :

    प्रमुख बुँदाहरू

    – ३७ दशमलव ६ मेगावाट क्षमताको काबेली–ए हाइड्रोपावर प्रोजेक्टको पीपीए सम्झौता सम्पन्न भएको छ । त्यस्तै, यस प्रोजेक्टको वित्तीय व्यवस्थाका लागि आईएफसीसँग ऋण सम्झौता, वल्र्ड बैङ्कसँग फाइनान्सिङ तथा प्रोजेक्ट सम्झौता, जलविद्युत् लगानी तथा विकास कम्पनीसँग सब्सिडियरी ऋण सम्झौता सम्पन्न ।

    – ३० मेगावाटको न्यादी हाइड्रोपावर प्रोजेक्टको वित्तीय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न ।

    – आव २०७२/७३ को ७ प्रतिशत बोनस शेयर तथा २० प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश वितरण ।

    बुटवल पावर कम्पनीसँग हाल ९ दशमलव ४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक आयोजनाको सम्पूर्ण स्वामित्व रहेको छ । त्यस्तै, ४ मेगावाटको खुदी हाइड्रोपावर आयोजनाको अधिकांश स्वामित्व तथा ६० मेगावाटको खिम्ती हाइड्रोपावर आयोजनाको स्वामित्व रहेको हिमाल पावर लिमिटेडको १८ दशमलव ६६ प्रतिशत स्वामित्व यस कम्पनीसँग छ । कम्पनीले आफ्नो भगिनी कम्पनीहरू काबेली इनर्जी लि. र न्यादी हाइड्रोपावर लि.बाट ३७ दशमलव ६ मेगावाटको काबेली–ए हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट तथा ३० मेगावाटको न्यादी हाइड्रोपावर प्रोजेक्ट सन् २०१७ बाट सुरुआत गरी २०२० सम्ममा सञ्चालन गरिसक्ने लक्ष्य राखेको छ । कम्पनीअन्तर्गतका सहायक कम्पनीका रूपमा बीपीसी सर्भिसेज लिमिटेड, हाइड्रो कन्सल्ट इञ्जिनीयरिङ लि., काबेली इनर्जी लिमिटेड, नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लि. र खुदी हाइड्रोपावर लि. छन् ।

    दोस्रो त्रैमासको समीक्षा :

    – मुनाफा ६० प्रतिशत बढाएर १३ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ करोड १८ लाख रुपैयाँ कमाएकोे थियो ।

    – चालू सम्पत्ति १२ दशमलव ९ प्रतिशत बढेर ७७ करोड ५१ लाख रुपैयाँ पुगेको छ

    – चालू दायित्व ७ दशमलव ४८ प्रतिशत बढेर ३३ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

    – विक्री ९ दशमलव ७३ प्रतिशत बढेर ४० करोड २४ लाख रुपैयाँ पुगेको छ ।

    – सञ्चालन मुनाफा ८ दशमलवल ८० प्रतिशत बढेर २६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

    – प्रतिशेयर आम्दानी ७ दशमलव ७४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ७२ दशमलव ३५ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ३२ दशमलव ६१ रुपैयाँ छ ।

    १ दशमलव १३ प्रतिशतको वृद्धि भएको अवस्थामा कमाइ तथा प्रतिशेयर आम्दानीमा ठूलो वृद्धि देखिएको छ । विद्युत् विक्रीमा सामान्य सुधार भए पनि अन्य आम्दानी बढेको छ । तर, विदेशी विनिमयदरमा परिवर्तनबाट घाटा घटेको छ ।

    प्राविधिक विश्लेषण : सुटिङ स्टार बन्यो, शेयरको आपूर्तिमा वृद्धि

    प्रतिरोध २ : ५७० । प्रतिरोध १ : ६२० । हालको अन्तिम मूल्य : ५१० । टेवा १ : ४४० । टेवा २ : ४००  

    वर्तमान अवस्था  
    केही महीनादेखि समग्र बजारको सूचकाङ्क नेप्से सूचक लगातार रूपमा घटेसँगै बुटवल पावर कम्पनीको पनि शेयरमूल्य घटेको छ । २०१६ को अन्त्य तिरबाट बढेको मूल्य अगष्ट महीनाको अन्त्यमा उच्च बिन्दु १ हजार १ सय ३० पुगेपछि लगातार घटेर आउँदा २०१२ पछि अहिलेसम्मको न्यून विन्दु ५ सय १० मा आइपुगेको छ । शेयर कारोबार सङ्ख्या अर्थात् भोलुम पनि लगातार घटेको देखिन्छ । यसले पछिल्लो समय लगानीकर्ताहरूबीच यस कम्पनीको आकर्षण घटेको सङ्केत दिन्छ । पछिलो समय नेप्से परिसूचकमा केही सुधारको सङ्केत देखिए पनि बुटवल पावर कम्पनीमा त्यसको त्यति ठूलो असर देखिएको छैन । यस कम्पनीको शेयरमूल्यमा १ दिनको वृद्धिसँगै अर्को दिन पुनः घट्ने प्रवृत्ति धेरैपटक दोहोरिएको देखिएको कारणले पनि यो कम्पनीको मुल्य बियरिश ट्रेण्डमा रहेको सङ्केत पुष्टि गर्छ ।

    प्राविधिक सङ्केतहरू  
    कम्पनीको साप्ताहिक विश्लेषणबाट ट्रेण्ड बियरिश देखिन्छ । नेप्से परिसूचकमा सुधार भएपछि कम्पनीको लामो स्याडोसहितको बुलिश डोजी मैनबत्ती बनेको छ । यस्तो प्रकारको मैनबत्तीले केही खरीदकर्ताको चापले माथि उचाल्ने प्रयास गरे पनि शुरू मूल्य र अन्तिम मूल्य नजिक भएकाले अझै पनि कम्पनीको मूल्यप्रति लगानीकर्ताहरूबीच अन्योल रहेको देखाउँछ । यस कम्पनीको शेयर कारोबार सङ्ख्यामा आएको कमीले पनि यस्तै अर्थ राख्छ । यस कम्पनीले सन् २०१५ को अक्टोबर महीनामा बनाएको ५ सय २४ को कमजोर मनोवैज्ञानिक तह ब्रेक गरेर ४ सय ६४ बिन्दुमा मूल्य आएको थियो । प्राविधिक विश्लेषणमा १४ दिने आरएसआई ३० को स्केलबाट बढेर ३३ दशमलव ८७ स्केलमा आइपुगे पनि रेखा समतल रहेको देखिन्छ ।

    निष्कर्ष
    केही दिनदेखि बढेको मूल्यसँगै यस कम्पनीको शेयरमा केही खरीद चाप देखिए तापनि तत्कालका लागि कम्पनीको मूल्यले स्पष्ट दिशा लिएर अगाडि नबढेसम्मका लागि लगानीकर्ताले केही समय कुर्नैपर्ने देखिन्छ । ट्रेण्ड लाइनमा प्रमुख च्यानल प्याटर्नको आधारमा ६ सय २० को तह बलियो अवरोध देखिन्छ भने ४ सय ४० को तहमा टेवा रहेको देखिन्छ ।

    स्रोत: आर्थिक अभियान