सानिमामाईले तल्लोलिखु र मध्यतमोर जलविद्युत आयोजना बनाउन हकप्रद सेयर निष्कासन गर्ने

    1327

    काठमाडौं । गैरआवासिय नेपालीद्वारा प्रवद्र्धित सनिमा समूहअन्र्तगतको सानिमामाई हाइड्रोपावर लिमिटेडले ८२ मेगावाट क्षमताको २ आयोजना बनाउन १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

    हकप्रद सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदन दिएको छ । २८ मेगावाटको तल्लोलिखु र ५४ मेगावाटको मध्यतमोर आयोजना बनाउनका लागि १ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने लागेको हो ।

    दुबै आयोजना वेग्लै कम्पनीमार्फत निर्माण हुने भएका छन् ।
    हकप्रद सेयर निश्कासनपछि कम्पनीको चुक्तापुंजी २ अर्ब ११ करोड ५० लाख रुपैयाँ पुग्ने छ । हकप्रद सेयरवापत प्राप्त रकम दुई आयोजना निर्माणमा लगानी हुने सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताहाल कम्पनीको चुक्तापुंजी १ अर्ब ५ करोड रुपैयाँ छ ।

    पर्याप्त लगानीको स्रोत हुँदाहँुदै पनि दुई आयोजनामा सर्वसाधारणको स्वामित्व होस भनेर हकप्रद सेयर निष्कासन गर्न लागेको श्रेष्ठको भनाई छ । नेपाल विद्युत प्राधिकरणसंग दुबै आयोजनाको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको उनले जानकारी दिए । यस्तै दुबै आयोजनालाई लगानी जुटाउने क्रममा बैंकसंग छलफल जारी रहेको उनले स्पष्टपारे ।

    विद्युत विकास विभागले लिखुबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको र मध्यतमोरको पनि केही महिनाभित्र पाइसक्ने उनले जानकारी दिए । आउदो सन् २०२१ सम्म दुबै आयोजना सम्पन्न हुने गरी काम अघि बढेको सीईओ श्रेष्ठले बताए ।

    दुबै आयोजनाको सेयर स्थानियबासिन्दा र सर्वसाधारणलाई निष्कासन गरिने पनि उनले जानकारी दिए ।
    यस्तै गत वर्षको वार्षिक साधारणसभाले दुई आयोजना निर्माणमा सघाउन हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । सानिमाले पहिलो चरणमा २८ मेगावाट क्षमताको तल्लो लिखु आयोजना अघि बढाउने भएको छ ।

    सानिमाले २२ मेगावाटको माई, ७ मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । हाल सानिमाले मात्रै ३१ मेगावाट विद्युत उत्पादन गरिसकेको छ । सिन्धुपाल्चोकको जुरे पहिरो र भूकम्पले गर्दा सुनकोसी आयोजना पुननिर्माण गर्न सानिमाले २७ करोड रुपैयाँ थप लगानी गरेको छ । यस्तै सानिमाले दोलखामा ६२ मेगावाट क्षमताको जुमखोला आयोजनाको अध्ययन थालेको छ ।

    स्रोत:बाह्रखरी