माथिल्लो तामाकोसीले सञ्चय कोषबाट थप ७ अर्ब ६६ करोड ऋण लिँदै

    1491

    काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेपछि थप ऋण लिने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले अपुग ७ अर्ब ६६ करोड थप कर्जा लिनका लागि ऋण दाता संस्थालाई पत्राचार गरेको छ ।

    ऋणदाता कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानसंग छलफल सुरु भएको छ । “आगामी आर्थिक वर्षका लागि आवश्यक भएकाले यो महिनाभित्र ऋण दिनका लागि अनुरोध गरेका छौं” तामाकोसीका एक अधिकारीले भने ।

    ती अधिकारीका अनुसार सञ्चय कोषले १२ प्रतिशत ब्याजदर मागेकाले कुरा मिलेको छैन् । कम्पनीले १०.५ प्रतिशत ब्याजमा ऋण लिएको थियो । यसअघि निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक ३५ अर्ब २९ करोड अनुमानित लागत तय भएको थियो । कम्पनीले ४१ अर्ब ६७ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गरेको थियो । जसअनुसार सेयरपुँजी १० अर्ब ५९ करोड, सरकारको ११ अर्ब ८ करोड, संचय कोष, टेलिकम, बीमा संस्था र लगानी कोषको २० अर्ब लगानी भएको थियो ।

    भूकम्प, नाकावन्दी, मूल्यवृद्धि, डलरको भाउ बढेको र सुरुङको डिजाइन परिवर्तनले गर्दा लागत बढेर निर्माण अवधिको ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । नपुग ७ अर्ब ६६ करोड रुपैयाँ ऋण लिनका लागि पक्रिया अघि बढेको कम्पनीले साधारण सेयर निष्कासनका लागि सार्वजनिक गरेको आव्हानपत्रमा उल्ले गरिएको छ । काम सुरु गर्दा १ डलर बराबर ८० रुपैयाँ थियो । अहिले बढेर ११० रुपैयाँसम्म पुगेको छ ।

    आयोजनाको समय र लागत बढेपनि ब्याज खर्च मात्रै १७ अर्ब रुपयाँ पुग्ने अनुमान गरिएको छ । डलरको मूल्य बढ्दा ७ अर्ब रुपैयाँ दायित्व बढेको आव्हानपत्रमा उल्लेख गरिएको छ । नयाँ लागतलाई सञ्चालक समितिले अनुमोदन गरिसकेकाले ऋण लिने प्रक्रिया अघि बढेको हो । हाल आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको छ ।

    आउदो वैशाखदेखि आयोजनाबाट बिजुली उत्पादन हुने छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । बिजुली बिक्रीबाट कम्पनीले साढे १० अर्ब रुपैयाँ हारहारीमा आम्दानी गर्ने छ ।

    अपर तामाकोसीले ३ वर्षपछि ४ अर्ब १० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरिएको छ । कम्पनीले आव ०७८÷०७९ मा ६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ संचित नाफा गर्नेछ । आयोजना सञ्चालन भएको साढे ९ वर्ष्भित्र कर्जा चुक्ता गर्नेछ ।

    आईडीसी बाहेक निर्माण अवधिको ब्याज बाहेक प्रतिमेगावाट १० करोड ८१ लाख रुपैयाँ पुगेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने छ । आयोजनाको बिजुलीको मूल्य प्रतियुनिट औसत ५ रुपैयाँ ३० पैसासम्म पुग्ने छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बीमा संस्थानको २ र नागरिक लगानी कोषको २ प्रतिशत स्वामित्व छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत लगानी रहेको छ

    आयोजनाको साधारण सेयर (आईपीओ) असार २४ गते आइतबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।आईपीओ निष्कासनपछि चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ ।

    यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ ।

    -विकासन्युज