चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, १० फागुन २०७३)

    4499

    परिचय
    सन् १९९५ मा स्थापना भएको चिलिमे हाइड्रोपावरमा नेपाल विद्युत् प्राधिकरणको अधिकतम (५१ प्रतिशत) स्वामित्व रहेको छ भने २५ दशमलव ५ प्रतिशत शेयर विद्युत् प्राधिकरण र चिलिमेका कर्मचारीको तथा १४ प्रतिशत सर्वसाधारण र १० दशमलव ५ प्रतिशत रसुवा जिल्लाका स्थानीयवासीको छ । काठमाडौंबाट १ सय ३३ किलो मिटर उत्तर रसुवामा रहेको चिलिमे हाइड्रोपावरको हाल २२ दशमलव १ मेगावाट बिजुली उत्पादन गर्ने क्षमता रहेको छ । चिलिमे हाइड्रोपावरबाट उत्पादित धेरैजसो बिजुली नेपाल विद्युत् प्राधिकरणले खरीद गर्ने गर्छ । कम्पनीले वर्षमा १ सय ५० गिगावाट बिजुली उत्पादन गर्छ । कम्पनीले थप तीनओटा हाइड्रोपावर परियोजना बनाउनेछ, जसलाई २ सय ७० दशमलव ३ मेगावाट बिजुली उत्पादन हुनेछ । कम्पनीले सन् २०२० सम्ममा  ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता गरेको छ । कम्पनीले बनाउने नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तथा अन्तर्गतका जलविद्युत् आयोजना साञ्जेन, मध्य भोटेकोशी र रसुवागढी हाइड्रोपावर परियोजनका लागि छुट्टै सहायक कम्पनी स्थापना भएका छन् ।

    कम्पनीको दोस्रो त्रैमास
    मुनाफा शून्य दशमलव ४४ प्रतिशत घटेर ५५ करोड ९२ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड १७ लाख रुपैयाँ  कमाएकोे थियो ।
    – चालू सम्पत्ति ४९ दशमलव १० प्रतिशत घटेर १ अर्ब १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ

    – चालू दायित्व १० दशमलव ९५ प्रतिशत बढेर ३८ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

    – विक्री १ दशमलव ८२ प्रतिशत बढेर ६५ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

    – सञ्चालन मुनाफा ३ दशमलवल ९३ प्रतिशत बढेर ५४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

    – प्रतिशेयर आम्दानी ३२ दशमलव ४४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २५ दशमलव १९ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ३१ दशमलव ३३ रुपैयाँ छ ।

    पूँजी बढेको अवस्थामा कमाइ तथा प्रतिशेयर आम्दानी घटेको देखिएको छ । विद्युत् विक्रीमा सामान्य सुधार गरे पनि अन्य आम्दानी घट्दा प्रशासनिक खर्च बढेपछि कमाइ घटेको हो । साथै,  ब्याज आम्दानी पनि ठूलो कमी आएको छ ।

    प्राविधिक विश्लेषण : सुटिङ स्टार बन्यो, शेयरको आपूर्तिमा वृद्धि

    चिलिमे हाइड्रोपावरको शेयरमूल्यमा सन् २०१४ जुलाईदेखि लगातार कमी भइरहेको छ । केही समय वृद्धि भए पनि यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमै रहेको देखिन्छ । केही दिनयताको शेयरमूल्य चार्ट हेर्दा बजार बढ्न प्रयास गरिरहेको देख्न सकिन्छ । गत हप्ता कम्पनी ६ सय ६५ सम्म तल आएको थियो भने सोमवार ७ सय ४८ सम्म बढेर ७ सय ३० मा बन्द भएको छ । सोमवार शेयर कारोबार भने ५ हजार ९ सय १९ कित्ता बढेर १५ हजार ३ सय ९४ कित्ता पुगेको छ ।

    प्राविधिक सङ्केतहरू
    सोमवार चिलिमे हाइड्रोपावरको चार्टमा सुटिङ स्टार मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा विक्रेताको चाप रहेको बुझाउँछ र बजार घट्न सक्ने सम्भावनाको सङ्केत गर्दछ । यस मैनबत्तीले पहिले बजारमा माग बढेर मूल्य बढेको र अन्तिममा आपूर्ति बढेर मूल्य घटेको सङ्केत गर्दछ । बजारमा जहिले पनि कारोबारबीचको समयमा के भयो भन्ने भन्दा पनि बन्द हुने समयमा के भयो भन्ने कुरा बढी महत्त्वपूर्ण हुने गर्छ । २१ दिने मुभिङ एभरेज बजारभन्दा माथि हुनुले बजार अझै पनि घट्दो प्रवृत्तिमा रहेको देखाउँछ । बजारमा विगतका मूल्य बिन्दुहरूको विभिन्न महत्त्व हुने गर्छ । कम्पनीमा ३ हप्ता पहिलेको ७ सय ४४ को टेवा अहिले प्रतिरोध भएको देखिन्छ । सोमवार बजार ७ सय ४४ भन्दा माथि बढे पनि त्यहाँ स्थिर हुन नसकी पुनः घटेको थियो ।

    निष्कर्ष
    प्राविधिक दृष्टिकोणबाट चिलिमे हाइड्रोपावार बढ्ने भन्दा पनि घट्ने सम्भावना बढी रहेको देखिन्छ । यस कम्पनीका लागि तत्काल प्रतिरोध ७ सय ९० मा रहेको छ र यो प्रतिरोध तोडिएको खण्डमा बजारले ८ सय २० को प्रतिरोध परीक्षण गर्ने सम्भावना रहन्छ । यस कम्पनीका लागि तत्काल टेवा ७ सय मा रहेको छ र यो टेवा तोडिएको खण्डमा बजारले ६ सय ६५ को टेवा परीक्षण गर्ने सम्भावना प्रबल रहन्छ ।

    स्रोत: आर्थिक अभियान