पाँच वर्षभित्र सबै नेपालीलाई सेयर : ऊर्जामन्त्री

    915

    काठमाडांैः ऊर्जामन्त्री जनार्दन शर्माले पाँच वर्षभित्र सबै नेपालीलाई सेयर दिने घोषणा गरेका छन् । सोमबार ऊर्जा मन्त्रालयको ऊर्जा संकट कार्यान्वयन आयोजनाले आयोजना गरेको नियमित विद्युत् आपूर्तिको अर्थतन्त्रमा प्रभाव विषयक कार्यक्रममा शर्माले प्रत्येक नेपालीलाई कम्तीमा एक लाख रुपैयाँ बराबरको सेयर दिने घोषणा गरेका हुन् । मन्त्री शर्माले आर्थिक रूपमा कमजोर व्यक्तिलाई श्रमवापत सेयर दिइने बताए ।

    ७ वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताउँदै उनले यसका लागि ठूला ठूला जलविद्युत् आयोजना निर्माण कार्य अघि बढाइने बताए । उनले प्रतिव्यक्ति विद्युत् खपत १६० किलोवाट आवर रहेकोमा त्यसलाई बढाएर १० वर्षभित्र २ हजार किलोवाट आवर खपत पु-याउन सकिने बताए । ऊर्जा उत्पादन बढाउँदा हरेक क्षेत्रको उत्पादन र रोजगारी बढ्ने भन्दै उनले यसबाट १० प्रतिशत आर्थिक वृद्धिदर पुग्ने दाबी गरे । पहिला लोडसेडिङको चरम तनाब दिएकोमा त्यसलाई सामूहिक सहकार्य र एकतामा परास्त गरिएको उनको भनाइ थियो ।

    राष्ट्रिय योजना आयोगका सदस्य अरविन्दकुमार मिश्रले धैरै भन्दा पनि ऊर्जा मन्त्रालयले स्रोत व्यवस्थापन हुनसक्ने थोरै आयोजना निर्माण सुरु गरेर समयमै सम्पन्न गर्नुपर्ने बताए । उनले जलविद्युत् आयोजना निर्माणअघि बढाउँदा प्राविधिक समन्वय र अनुसन्धानलाई महत्व दिनुपर्ने बताए । ऊर्जासचिव अनुपकुमार उपाध्यायले वनको स्वीकृतिलगायतमा देखिएको समस्या समाधानका लागि अन्तर निकाय समन्वय तथा आवश्यकताअनुसार ऐन संशोधनका लागि पहल भइरहेको बताए ।

    • ७ वर्षभित्र १७ हजार मेगावाट बिजुली
    • प्रतिव्यक्ति दुई हजार किलोवाट आवर विद्युत् खपत
    • ऊर्जाको योगदानमार्फत १० प्रतिशत आर्थिक वृद्धिदर

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसारको विद्युत् आपूर्ति, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाह, न्यायोचित वितरण, विद्युत्विहीनलाई पहुँच वृद्धि, ऊर्जामा नेपालको आत्मनिर्भरता, उत्पादन, वितरण र प्रसारणलाई दु्रत विकासलगायतलाई प्राधिकरणले विशेष जोड दिने बताए । ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले सरकारी निकाय तथा निजी क्षेत्रसँग अहिले १६ हजार ४ मेगावाट बराबरका आयोजनाको अनुमति रहेको बताउँदै हाल ४१ हजार मेगावाट विभिन्न चरणमा रहेको जानकारी दिए ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागार्इंले अहिले ३ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना निर्माणको क्रममा तीन सय किमि सुरुङ खन्नुपर्ने भए पनि विष्फोटक पदार्थ अभव रहेको बताए । उनले निजी क्षेत्रले ६ खर्ब बराबरका २ हजार २ सय मेगावाट बराबरका आयोजना निर्माण गरिरहेको जानकारी दिए ।

    कार्यक्रममा सहभागीले लोडसेडिङ अन्त्य भएपछि व्यापार व्यवसायमा धेरै फाइदा भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए । उनीहरूले ऊर्जा उत्पादनका लागि देखिएका समस्या समाधान गरी उचित वातावरण निर्माणका लागि समेत आग्रह गरेका थिए ।

     स्रोत:कारोबार