नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो

    1211

    वैशाख ५, काठमाडौं । नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ । सिमेण्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन् । अघिल्ला वर्षमा दैनिक आठदेखि दश घण्टा मात्रै विद्युत् पाएका उद्योगी तथा व्यवसायीले गत असोजदेखि निरन्तर रुपमा दैनिक २० घण्टा विद्युत् पाएका छन् ।

    एक चरणमा मात्रै चल्ने उद्योग दुई चरणमा चल्न थालेका छन् । उत्पादन क्षमता बढेको छ भने रोजगारीको अवसरमा समेत वृद्धि भएको छ । होटल एशोसिएशन अफ नेपाल(हान)का महासचिव विनायक शाहले नियमित विद्युत् प्राप्त भएपछि होटलको खर्चमा मासिक ४५ प्रतिशतले कमी आएको, गुणस्तरीय सेवा दिन सकिएको तथा रोजगारीको अवसरमा समेत वृद्धि भएको बताए । ‘हामीले दिने सेवा र मूल्य तय गर्न सहज भएको छ, डिजेल खपतमा कमी आएको छ’, शाहले भने ।  नियमित विद्युत् आपूर्तिपछि काठमाडौं, पोखरा, चितवनलगायतका होटल तथा सेवा क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनले सरकारलाई सहज रुपमा सहयोग गर्ने वातावरण बनेको उनको भनाइ छ ।

    होटलमा प्रयोग भएको पूराना बल्व हटाउने, नयाँ एलइडी बल्व राख्ने, पूराना कन्डक्टर एवम् फ्यूज फेर्ने तथा अन्य प्राविधिक उपकरण फेर्नेतर्फ प्राधिकरणको सहयोगको अपेक्षा गरेको शाहले बताए । सिमेण्ट उत्पादक सङ्घका महासचिव ताराप्रसाद पोखरेल नियमित विद्युत् आपूर्तिले सिमेण्ट उत्पादन तथा क्लिङ्कर उत्पादनमा गत वर्षभन्दा ५० प्रतिशतले बढोत्तरी भएको बताउँछन् । सिमेण्टमा आत्मनिर्भर बनेको मुलुकलाई थप समृद्ध बनाउने र निर्यात बढाउनका लागि अझै नियमित रुपमा विद्युत् आवश्यक रहेको पोखरेलको भनाइ छ ।

    रुपन्देही क्षेत्रमा दर्जनौँ सिमेण्ट उद्योग स्थापना हुने चरणमा रहेका र केही सञ्चालनमा आइसकेकाले न्यूनतम एक सय र अधिकतम दुई सय मेगावाटसम्म विद्युत् आवश्यक रहेको पोखरेल बताउँछन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्याय दैनिक २० घण्टा उद्योगले विद्युत् पाउनु सुखद रहेको बताउँछन् । ‘‘गत वर्षभन्दा उद्योगको उत्पादन क्षमतामा ४० प्रतिशतले वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रशासन पनि चुस्त देखिएको छ । जनतामा साँच्चै नौलो अनुभूति भएको छ,” उपाध्यायले भने ।

    उद्योगले नियमित विद्युत् पाए पनि स्वच्छ ऊर्जा भने पाउन सकेका छैनन् । ट्रिपिङको समस्या छ । भोल्टेज पनि तल माथि हुने गर्दा मेसिन जल्ने तथा उत्पादित सामग्री गुणस्तरीय नहुने भएकाले भोल्टेजको समस्या सुधार गर्नुपर्नेमा अध्यक्ष उपाध्यायले जोड दिए ।

    बिएण्डबि अस्पतालका प्राविधिक अधिकृत सुरेन्द्र माथेमाले अत्यन्तै गम्भीर बिरामीको शल्यक्रिया गर्दागर्दै बत्ती जाँदाको पीडा विगतका वर्षमा हुने भए पनि विगत सात महीनादेखि त्यस्तो समस्या भोग्नु नपरेको बताए । ‘अस्पतालमा उपकरण चलाउन समस्या हुन्थ्यो, आइसियुका बिरामीलाई विद्युतको अभावमा ज्यान जोगाउनै समस्या हुने अवस्था थियो, तर अहिले त्यो समस्या हटेको छ,” उनले भने । वरिष्ठ चिकित्सक डा भोला रिजाल विद्युत्भार कटौती अन्त्य होला र ? भन्ने निराशा, मानसिक तनावमा परेका नेपालीलाई सरकारले राहत दिएको बताउँछन् । ‘सरकारको काम प्रशंसायोग्य छ,” डा रिजालले भने ।

    नियमित विद्युत् आपूर्तिपछि समग्र क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण चालू आवको आर्थिक वृद्धिदर समेत २५ वर्षपछि ६ दशमलव ५ बिन्दुमा पुग्न लागेकाले आफूहरुलाई पनि खुसी लागेको बताउँछन, ऊर्जा सचिव अनुपकुमार उपाध्याय । आम नागरिक, उपभोक्तबाट पाएको सकारात्मक सहयोग नै ऊर्जा मन्त्रालयका लागि प्रेरणाका स्रोत भएको उनको भनाइ छ । रासस