गोरखा लोडसेडिङमुक्त

    1048

    वैशाख ५, २०७४- विद्युत् सबस्टेसनको क्षमता वृद्धिसँगै गोरखा लोडसेडिङमुक्त जिल्ला भएको छ । विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख अमृत अधिकारीका अनुसार अब तालिकाअनुसार लोडसेडिङ हुने छैन ।

    ‘प्राविधिक कारणले बत्ती आउने जाने हुन सक्छ,’ उनले भने, ‘तालिकाअनुसार अब लोडसेडिङ हुँदैन ।’ सदरमुकामको सबस्टेसनमा ६ एमभीए (मेगा भोल्ट एम्पायर) क्षमताको ट्रान्सर्फमर राखिएको छ । उक्त सबस्टेसनबाट जिल्लाका अधिकांश भूभागमा विद्युत् वितरण हुन्छ । यसबाहेक आरुघाट वितरण केन्द्र र उत्तरी क्षेत्रमा स्थानीय लघु जलविद्युत् आयोजनाबाट विद्युतीकरण भएको छ । मुच्चोकस्थित दरौंदी कालिका हाइड्रोले पुसबाट ६ मेगावाट बिजुली उत्पादन थालेपछि लोडसेडिङमुक्त जिल्ला बनाउने काम सुरु भएको थियो । प्राधिकरणले सबस्टेसनको स्तरवृद्धिसँगै ट्रान्सर्फमरको क्षमता बढाएपछि जिल्ला लोडसेडिङमुक्त भएको हो ।

    सबस्टेसनबाट महेन्द्रज्योति, खोप्लाङ र नयाँबजार फिडर बनाएर विद्युत् वितरण गरिएको छ । ग्रामीण क्षेत्रमा अधिकांश काठेपोल भएका कारण लोडसेडिङ नभए पनि हावाहुरी, चट्याङ र वर्षाले भाँच्चिने, लड्ने आदि हुँदा बिजुली आउजाउ भइरहने प्राधिकरणका कर्मचारीहरू बताउँछन् । जिल्लाभर करिब १० मेगाभोल्ट एम्पियर क्षमताको विद्युत् खपत हुने अनुमान छ । प्राधिकरणले सुधार गर्दै काठे पोलको सट्टा फलाम र सिमेन्टका राख्ने काम जारी राखेको छ ।

    स्रोत:कान्तिपुर