दुई दर्जन आयोजनाको लाइसेन्स खारेज

    2778

    doedनुवाकोट– विद्युत विकास विभागले रसुवाका साना, ठूला गरी दुई दर्जन जलविद्युत आयोजनाको लाइसेन्स खारेज गरेको छ । सर्भे गरेर काममा ढिलाई गर्ने, काम अघि नबढाउने र तोकिएको समयमा सुरु नगर्ने आयोजनाको लाइसेन्स भएको विभागले जनाएको छ।

    खारेजीमा परेका २४ आयोजनाको उत्पादन क्षमता ६ सय ७ मेगावाट छ । २४ मध्ये १९ आयोजना रसुवाको भोटेकोसी, त्रिशूली, साञ्जेन र मैलुङ खोलामा सर्भे भएका हुन् । विभागका अनुसार निर्धारित समयमा काम सुरु नगरेपछि सर्भे र जेनेरेसन लाइसेन्स खारेज गरिएको हो । रसुवामा मात्र साना, ठूला गरी ४ दर्जनभन्दा बढी आयोजनाले सर्भे गरेका छन् ।

    विभागले कैलाश हाइड्रोपावर कम्पनीले सर्भे गरेको ६ मेगावाटको साञ्जेन, १०२ को अपर त्रिशूली–२ बी, बिष्णु अधिकारीको नाममा दर्ता भएको १७ मेगावाटको साञ्जेन, ५ मेगावाटको अपर रसुवा भोटेकोसी, नेपाल पावर कम्पनीको ४.८ मेगावाट तादीखोला, १.२ मेगावाटको बामदाङ र साढे ३ मेगावाटको दल्की खोलाको लाइसेन्स खारेज गरेको जनाएको छ । त्यसैगरी, भैरहवा इनर्जीको अपर त्रिशूली–२ ए (११९ मेगावाट), स्वयम्भु इनर्जीको त्रिशूली गंगा (९.९ मेगावाट), लाङटाङ खोला (१० मेगावाट) पनि लाइसेन्स खारेज भएको छ । भोटेकोसी रसुवा (२० मेगावाट), तादी खोला (३.५ मेगावाट), अपर त्रिशूली–२ ए हाइड्रोपावर (२२९ मेगावाट) र अपर त्रिशूली खोला (३ मेगावाट)को लाइसेन्स खारेज गरिएको छ ।

    लाइसेन्स पाएर सर्भेपछिको काम सुरु नगर्ने तादी घ्याङफेदी (२.५ मेगावाट), फलाखु खोला (५.५ मेगावाट) र सानो लिखु (१.५ मेगावाट) लगायत पनि खारेजी सूचीमा छ।

    रसुवामा अनुमति पाएका ३८ आयोजना सम्पन्न भए १ हजार ५ सय मेगावाट विद्युत् उत्पादन हुन्छ । तर लाइसेन्स होल्ड गरेर बस्ने प्रवृत्ति बढेको छ । नुवाकोट र रसुवा भएर बग्ने त्रिशूली खोलामा जलविद्युत्को सम्भावना प्रचुर रहेको विज्ञ बताउँछन्।

    दुई दर्जन आयोजनाको लाइसेन्स खारेज भए पनि केही ठूला र साना आयोजनाको निर्माण धमाधम भइरहेको छ । ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना उत्पादित बिजुली एक महिनाभित्रै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारीमा रहेको जनाएको छ ।

    त्यस्तै २१६ मेगावाटको माथिल्लो त्रिशुली १, चिलिमेकै लगानीमा ४२ मेगावाटको साञ्जेन, १४.६ मेगावाटको माथिल्लो साञ्जेन र १११ मेगावाट क्षमताको रसुवागढी आयोजना निर्माण चरणमा छन् । रसुवा र नुवाकोटमा लाइसेन्स पाएका ५५ आयोजनामध्ये दुई दर्जन निर्माण चरणमा छन् । हाल रसुवाको स्याफ्रुस्थित चिलिमेले २१ मेगावाट, नुवाकोटको त्रिशूली जलविद्युत आयोजनाले १८ र देवीघाट जलविद्युत् केन्द्रले १४ मेगावाट उत्पादन गरिरहेका छन् ।

    Source : Nagarik News