भारतपछि अब चीन र बंगलादेशसँग पीटीए गर्ने उर्जामन्त्रीको घोषणा

    1097

    जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरममा उनले त्यस्तो आग्रह गरेका हुन । पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

    उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दावी समेत गरे ।

    मन्त्री पुनले चीन र बंगलादेशसँग द्विपक्षीय विद्युत व्यापार सम्झौता (पीटीए)को प्रक्रिया सुरु भएको जानकारी दिए । भारतसँग पीटीए भइसकेकोले अब वंङगलादेश र चीनसँग पनि छिट्टै त्यस्तो सम्झौता हुने उनको भनाई थियो ।

    पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेकस्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत उत्पादन विस्तार गर्न आवश्यक रहेको बताए ।

    पुनले भने, ‘हामीले भारतसँग पीटीए गरिसकेका छौं । अब चीन र बंगलादेशसँग पनि हामी गर्ने तयारीमा छौं । यसबाट क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं ।’ उनले दिगो र गुणस्तरीय विद्युत विकास गर्न क्षेत्रीय सदस्यबीच सम्बन्ध बलियो हुनुपर्ने धारणा राखे । मन्त्री पुनले नविकरणीय उर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति सुनाउँदै वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको बताए । विद्युतलाई आर्थिक विकाससँग जोड्न पनि सदस्य राष्ट्रबीच अन्तर–आवद्धता आवश्यक रहेको उनले बताए ।

    उर्जामन्त्रीले भेटे म्यानमार र पाकिस्तानी समकक्षी

    उर्जामन्त्री पुनले म्यानमारका उर्जामन्त्री जयर अंग र पाकिस्तानी समकक्षी अहमद खानसँग भेटवार्ता गरेका छन् । उनको निजी सचिवालयका अनुसार पाकिस्तानी उर्जामन्त्रीले आफ्नो देशको उर्जा क्षेत्रको अवस्थाका बारेमा उर्जामन्त्री पुनलाई जानकारी गराएका थिए । पाकिस्तानी उर्जामन्त्रीले नविकरणीय उर्जामा जोड दिन र स्मार्ट विलिङ सिस्टममा जान मन्त्री पुनलाई सुझाव दिए । विमस्टेक उर्जा फोरमको अध्यक्षता गरिरहेको म्यानमारका उर्जामन्त्री जयर अंगसँगको भेटमा मन्त्री पुनले फोरमको तेस्रो बैठकको अध्यक्षता नेपालले गर्ने तयारी गरिरहेको जानकारी दिए ।

    कर्पोरेट नेपाल