दशैंअघि नै माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट विजुली बाल्न पाइने

    1307

    उर्जामन्त्रीले सोमबार हायत होटलबाट यसरी गर्दैछन् उदघाटन

    माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने भएको छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावर हाउस राखेर मर्स्याङ्दी नदीबाट विजुली निकालेको हो ।

    सो आयोजनाबाट उत्पादित विजुलीको उदघाटन आगामी सोमबार उर्जामन्त्री जनार्दन शर्माले गर्दैछन् । शर्माले हायत होटलबाट आयोजनास्थलमा रहेका कर्मचारीलाई स्वीच थिच्न निर्देशन दिएर उदघाटन गर्ने कार्यक्रम रहेको उर्जा मन्त्रालयले जनाएको छ ।

    ‘मन्त्रीज्यूसँग उदघाटनका लागि लमजुङ पुग्ने समय नभएकाले हायत होटलबाटै मन्त्रीज्यूले फोनमार्फत स्वीच थिचेर बत्ती बाल्न निर्देशन दिएर सो आयोजनाबाट उत्पादित विजुलीको उदघाटन गर्ने कार्यक्रम छ,’ उर्जा मन्त्रालयका एक अधिकारीले भने ।

    आयोजनाको कुल लागत १६ अर्ब रुपैयाँ रहेको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथाले जनाएको छ । आयोजनामा सिनो हाइड्रो चाइनाको ९० प्रतिशत र सिनो हाइड्रो सगरमाथाको १० प्रतिशत लगानी रहेको छ । आयोजनाका लागि आश्यक पर्ने ऋण एक्जिम बैंक अफ चाइनाबाट लिइएको हो ।

    यो आयोजनाको निर्माणकार्य ०६९ सालमा सुरु भएको थियो । ०७३ असोज १ गतेसम्ममा व्यावसायिक उत्पादन गर्ने समय भएपनि आयोजनाले एक वर्षअघि नै उत्पादन गर्न सक्ने भनेर सरकारलाई लिखित पत्राचार गरको थियो ।

    तर, भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजनाको काम पछि धकेलिँदा पनि तोकिएको समयमै आयोजना सम्पन्न गर्न सफल भएको सिनो हाइड्रो सगरमाथाका एक अधिकारीले बताए ।

    आयोजनाबाट उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको दमौली प्रसारणलाइनमा जोडिने छ । आयोजनाले सुख्खायाममा अर्थात पुसदेखि चैतसम्ममा ५ करोड ७० लाख युनिट र वर्षायाममा २६ करोड ६ लाख युनिट गरी एक वर्षमा कुल ३१ करोड ७६ लाख युनिट विजुली उत्पादन गर्ने जनाएको छ ।

    ३० करोड लागतमा आफैं ट्रान्समिसन लाइन

    नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइन बनाउनुपर्ने भएपनि प्राधिरकण बनाउने छाँटकाँट नदेखाएपछि आयोजना स्वयंले ३० करोडको लागतमा २४ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरेको छ । पावरहाउसदेखि मध्यमर्स्याङ्दीसम्म आयोजनाले आफैं प्रसारणलाइन बनाएको हो ।

    ‘प्राधिकरणको दमौली सबस्टेशनमा विजुली पठाउन १४ किलोमिटर वान वे मात्रै छ, त्यो प्रसारणइन टू वे नभएसम्म आयोजनाबाट उत्पादित २५ मेगावाट विजुलीमात्रै पठाउन सकिन्छ,’ सिनो हाइड्रो सगरमाथाका एक अधिकारीले भने ।

    विद्युत प्राधिकरणले डबल लाइनको प्रसारणलाइन बनाउने वित्तिकै आयोजनाबाट उत्पादिन ५० मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

    पुससम्ममा ७० मेगावाट आउँदै

    उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार माथिल्लो मर्स्याङ्दी बाहेक आगामी पुस सम्ममा राष्ट्रय प्रसारण लाईनमा थप ७० मेगावाट विजुली थपिँदैछ । कास्कीको माथिल्लो मादी आयोजनाबाट २५ मेगावाट, ताप्लेजुङको हेवाखोलाबाट १४.९ मेगावाटको, मुस्ताङको थापा खोलाबाट १४ मेगावाट, ताप्लेजुङको माथिल्लो माई सी बाट १० मेगावाट र ललितपुरको तुमुङ थोस्मे खोलाबाट ६ मेगावाट गरी ७० मेगावाट विजुली पुससम्ममा उत्पादन भइसक्ने घिमिरेले जानकारी दिए ।

    तत्कालीन प्रधानमन्त्री केपी ओलीले ११ महिनाअघि एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेपछि उर्जा मन्त्रालयले यही असोज मसान्तसम्ममा कम्तीमा १ सय ५० मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

    तर, भारतीय नाकाबन्दीका कारण इन्धन संकटलगायतका समस्या आइपरेकाले तोकिएको समयमै लक्ष्यअनुसार विजुली उत्पादन गर्न नसकिएको दिनेश घिमिरेले बताउँछन् ।

    ‘भारतीय नाकाबन्दीको असरका कारण असोज मसान्तसम्ममा लक्ष्यअनुसार विजुली उत्पादन गर्न सकिएन’ उनले भन, ‘तर आयोजनाहरुको हालसम्मको प्रगति हेर्दा पुस मसान्तमा लक्ष्यअनुसारको उत्पादन हुन्छ । ‘

    सरकारले उत्पादनको लक्ष्य राखेको १ सय ५० मेगावाटमध्ये ३० मेगावाट विद्युत दुई महिनाघि नै राष्ट्रिय प्रसारणलाइनमा जडान भइसकेको छ । माथिल्लो मर्स्याङ्दीबाट उत्पादिन ५० मेगावाट जोडिँदा ८० मेगावाट पुग्छ ।

    स्रोत : online khabar