रुख कटानको बाटो खुल्यो

    1789

    दमौलीः रुख कटानको अनुमति प्राप्त नहुँदा निर्माण कार्यमा असर पुगेको तनहुँ जलविद्युत् आयोजनालाई अब रुख काट्ने बाटो खुलेको छ ।

    वृक्षारोपणका लागि आवश्यक जग्गा नहुँदा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजनाभित्र पर्ने रुख काट्न सकेको थिएन ।

    राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी कार्यविधि २०७४ लाई संसद्को सामाजिक सुरक्षा समितिले पारित गरेपछि ती आयोजना निर्माणका लागि रुख काट्ने अनुमति प्राप्त भएको छ ।

    यसअघि वन कटान गरेवापत आयोजनाले जग्गा खरिद गरी वृक्षारोपण गर्नुपर्ने बाध्यता थियो । तर, अब भने वन कटानी गरेवापत क्षतिपूर्तिका रूपमा पैसा तिरे पनि हुने भएको छ ।

    जेठ ७ गते सामाजिक सुरक्षा समितिको बैठकले पारित गरेको कार्यविधिमा वन कटान गरेवापत पैसा तिरे पनि हुने उल्लेख गरिएको छ । तर, कुनै पनि आयोजनालाई राष्ट्रिय योजना आयोगले राष्ट्रिय प्राथमिकताको योजना भनेर मान्यता दिएपछि मात्रै वन मन्त्रालयले रुख कटानको लागि अनुमति दिन सक्छ ।

    तनहुँ जलविद्युत् आयोजनाले ४२२ हेक्टर क्षेत्र वन कटानीको लागि वन मन्त्रालयसँग स्वीकृति मागेको थियो । तनहँु आयोजनाका निर्माणका क्रममा वनका १ लाख ५२ हजार रुख विरुवा कटान हुन्छन् ।आयोजनाको पुरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को मस्यौदा प्रतिवेदनअनुसार आयोजना निर्माणका क्रममा १ लाख ५२ हजार ५२८ रुखहरु कटान गर्नुपर्ने देखिएको छ ।

    यसअघि स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा १ लाख ६१ हजार ९६७ रुख कटान गर्नुपर्ने देखिए पनि पूरक वातावरणीय प्रभाव मूल्यांनका क्रममा ९ हजार ४३९ रुखहरू घटेको हो ।

    नेपाल विद्युत् प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभागले तयार बनाएको उक्त प्रतिवेदनअनुसार आयोजना निर्माणको कारण ४ सय २२.८९ हेक्टर वन क्षेत्रफल प्रभावित हुनेछ ।

    विभागका सहायक निर्देशक कृष्णप्रसाद जोशीका अनुसार बाँधस्थल जलाधर क्षेत्र आदिका कारणले जीवजन्तुहरूको हिँडडुल तथा बासस्थानमा समेत असर पर्न सक्ने देखिएको छ ।

    स्रोत: कारोबार