तीन महिनामा कुल विद्युत उत्पादन १ हजार मेगावाट नाघ्ने

    2382

    काठमाडौं । विद्युत उत्पादन जडित क्षमता बढेर चालु आर्थिक वर्षमा १ हजार मेगावाट नाघ्ने भएको छ । यो वर्ष १४२ मेगावाट क्षमता १५ आयोजना सम्पन्न भएपछि कुल क्षमता १ हजार मेगावाट नाघ्ने भएको हो ।

    हालसम्म सार्वजनिक र निजी साझेदारीमा ११२ आयोजना सम्पन्न भई नेपालको कुल विद्युत जडित क्षमता ९६१ मेगावाट पुगेको छ । अझै ४५ मेगावाट बिजुली उत्पादन थप भएकाले चालु आर्थिक वर्षमा जडित क्षमता १ हजार मेगावाट नाघ्ने भएको हो ।

    हालसम्म नेपाल विद्युत् प्राधिकरणको ४५ आयोजनाबाट ५३१, निजी लगानीबाट ५८ आयोजना सम्पन्न भई ४३० मेगावाट बिजुली उत्पादन भइसकेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनका अनुसार आउँदो असारसम्म निजी क्षेत्रबाट थप ४५ मेगावाट बिजुली थप हुँदैछ ।

    ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजना भूकम्प र गत असारमा भोटेकोसी नदीमा आएको बाढीले ठुलो क्षति पु¥याएपछि पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन अझै ३ वर्ष लाग्ने भएको छ ।

    असारसम्म सम्पन्न हुने अन्य आयोजनामा २.८ मेगावाटको छ्याकेखोला, ५.१ मेगावाटको माई सी, ११.२ मेगावाटको थापाखोला, ३.२ मेगावाटको गेलुनखोला, ६ सय किलोवाटको ढुंगेजिरी, ४ मेगावाटको सर्दिखोला, ७.६ मेगावाटको जोगमाई इलाम, ३ मेगावाटको मिदिम करापु, ३.७ मेगावाटको द्धारीखोला र ४ मेगावाटको पुवाखोला छन् ।

    हालसम्म १०० मेगावाट क्षमताका ५ आयोजना सम्पन्न भइसकेका छन् । अन्य आयोजना निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ४५ मेगावाट क्षमताका १० आयोजनाको काम अन्तिम चरणमा पुगेकाले असारसम्म सम्पन्न हुने भएको छ ।

    यो वर्ष ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए, २५ मेगावाटको मादी ए, १५ मेगावाटको हेवाखोला ए, ६ मेगावाटको दरौदी ए र १ मेगावाटको नियाखोला आयोजना सम्पन्न भइसकेका छन् ।

    यो वर्ष १७४ मेगावाट बिजुली थप हुने अनुमान गरिएकोमा १४२ मेगावाट मात्र पुरा हुने भएको छ । सरकारले चालु आवमा बजेटमा २ सय मेगावाट बिजुली थप हुने उल्लेख गरेको छ । सरकारको लक्ष्य भने पुरा नहुने भएको छ ।

    १५ मध्ये २ आयोजना नेपाली र चिनियाँको संयुक्त लगानीमा बनेका हुन् । ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजना चीनको सिनो हाइडो कर्पोरेशन र नेपालको सगरमाथा पावर कम्पनी प्रालिको संयुक्त लगानीमा निर्माण भएको हो ।

    यसमा सिनोको ९० र सगरमाथाको १० प्रतिशत लगानी छ । माथिल्लो मर्स्याङ्दीबाट विद्युत उत्पादन सुरु भइसकेको छ । यस्तै मादीमा चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशनको ८० र २० गोरखा कन्ट्रक्सनको छ ।

    आगामी आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाहेक २४५ मेगावाट थप हुनेछ । ०७५ को असार मसान्तसम्म तामाकोसीको पहिलो एकाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

    आउँदो ३ वर्ष प्रणालीमा १ हजार २ सय मेगावाट बिजुली थप भई जडित क्षमता २ हजार १ सय मेगावाट नाघ्नेछ । हाल २ हजार मेगावाट क्षमताका आयोजना निर्माणधीन छन् ।

    – बाह्रखरी