ढल्केबर सबस्टेसनबाट चिनियाँ कम्पनी ‘आउट’, प्राधिकरणले तोड्यो ठेक्का

    1170

    १७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केबरमा निर्माणाधीन २ सय २० केभीको सबस्टेसनको ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी)सँग सम्झौता तोडेको छ । कामको गति बढाउन अटेरी गरेको भन्दै कम्पनीसँगको ठेक्का तोडिएको हो ।

    पटक-पटक काममा तीव्रता दिन आग्रह गरेपनि चिनियाँ कम्पनीले काम अघि बढाउन कुनै चासो नदिएपछि ठेक्का तोडिएको ढल्केबर सबस्टेसन निर्माण आयोजनाका प्रमुख राधेशरण महतोले अनलाइनखबरलाई बताए ।

    ठेक्का तोडिएसँगै कम्पनीको करिब ३० करोड रुपैयाँ बराबरको धरौटी समेत जफत गरिएको महतोले जानकारी दिए । यस कम्पनिले विभिन्न बखेडा झिक्दै काम गर्न अटेर गरिरहेको थियो ।

    महतोकाअनुसार सीसीपीजीले ढल्केबरबाहेक अन्य दुई स्थानका सबस्टेसन निर्माणको कामबाट हात झिक्न खोजेको थियो । उसले अन्य सबस्टेसन आयोजनामा पनि अहिले नै आफैंसँग सम्झौता गर्नुपर्ने सर्त अघि सारेको थियो ।

    त्यस्तै ढल्केबर सबस्टेशनमा नयाँ रेट कायम गर्न पनि उसले प्राधिकरणलाई दबाव दिएको थियो । आफ्ना सर्त माने मात्रै काम अघि बढाउने चिनियाँ कम्पनीले अडान राखेपछि ठेक्का तोडिएको हो ।

    ‘ठेक्का सम्झैता बाहिर गएर हामीले कुनै सम्झौता सकेनौं, किनकी यो राष्ट्रहित बिपरीत थियो । बरु काम गर्न अटेरी गर्ने कम्पनीसँग ठेक्का नै तोड्ने निर्णयमा पुग्यौं,’ प्रमुख महतोले भने ।

    सम्झौताअनुसार सीसीपीजीले ढल्केबरसँगै इनरुवा र हेटौंडाको पनि सबस्टेसन निर्माण गर्नुपर्ने थियो ।

    अहिले ढल्केबर सबस्टेशनकोे करिब ९० प्रतिशत मात्रै काम सकिएको छ । हेटौंडामा गत मे महिनाबाट मात्रै काम सुरु गरेकाले खासै काम हुन पाएको छैन । इनरुवामा कम्पनीले काम नै सुरु गरेको छैन ।

    ०७२ सालमा सम्पन्न गर्नुपर्ने यी सवस्टेसन ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापरवाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन ।

    गत भदौमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालो सूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएका थिए ।

    त्यसपछि ठेकेदार सीसीपीजीले तत्कालै काम सुरु गरेपनि पछिल्लो समयमा फेरि काममा अटेरी गर्न सुरु गरेको थियो ।

    ऊर्जा मन्त्रालयबाट शर्मा बहिर्गमनपछि सीसीपीजी र प्राधिकरणको सम्बन्ध चिसिँदै गएको थियो ।

    कम्पनीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेर्नै छाडेको थियो । यसैका कारण कम्पनीले पटक-पटक काम रोक्दै आएको थियो ।

    अहिलेका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि निर्माण स्थलमै पुगेर निर्माण प्रक्रियामा तीव्रता दिन निर्देशन दिएका थिए ।

    तर, सीसीपीजीले पछिल्लो समय तीनवटा सर्त राख्दै काम रोक्दै आएको थियो । प्राधिकरणले यो कम्पनीलाई १ अर्ब ४२ करोडमा सामानको रकम र जडान चार्जबापत ६० करोड तिर्ने सम्झौता गरेको थियो ।

    महत्वपूर्ण आयोजना बिचमै रोकिए

    आगामी सुख्खायाममा यो सबस्टेसनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजना छ ।

    यसको निर्माण रोकिएसँगै आगामी हिउँदमा यो सबस्टेसन मार्फत थप विद्युत् ल्याउने योजना अलपत्र परेको छ । अहिले आयोजनाले के कसरी निर्माण अघि बढाउने भनेर छलफल थालेको छ ।

    ‘ठेक्का तोडेपछि अब हिउँदसम्ममा काम सक्न के कसरी नयाँ कम्पनीलाई ठेक्का दिने भनेर हामीले छलफल गरिरहेका छौ,’ प्रमुख महतोले भने ।

    प्राधिकरणले यसअघि यो सबस्टेसन अगष्टसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।

    समयमा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले यसअघि २२० केभीको भरतपुर-बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा पनि सीसीपीजीसँग खोसेको थियो ।

    यसरी ठेक्का तोडेपछि यसले अन्य स्थानको काम रोक्दै आएको थियो । उसले जफत भएको ३० करोड बराबरको रकम फिर्ता नगरेसम्म कामै सुरु नगर्ने धम्की समेत दिएको थियो ।

    – अनलाइनखबर