जोशी हाइड्रोपावरको आईपीओ असार ११ गतेसम्म बिक्री खुला, १८०० कित्तासम्म आवेदन दिन पाइने

    1060

    जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) असार ११ गतेसम्म निष्कासन हुने भएको छ । आईपीओ निष्कासन बन्द ढिलोमा जेठ २२ गते तोकिएपनि अन्तिम दिन असार ११ गते बैंकिङ समयपछि आवेदन लिने काम बन्द हुने कम्पनीले जनाएको छ ।

    जोशीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले पहिलो चरणमा इलामको इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका स्थानियबासिन्दाले आईपीओका लागि आवेदन दिन पाउने छन् । न्युनतम ५० देखि अधिकतम १ हजार ८०० कित्तासम्म आवेदन दिन पाउने सिद्धार्थले जानकारी दिएको छ ।

    कम्पनीले ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । जसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र ३९ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । यस्तै प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ २१ पैसा रहेको छ ।

    विकासन्युज