७५ मेगावाटको त्रिशूली गल्छी बनाउँदै चिनियाँ कम्पनी

    1341

    साढे १४ अर्ब लगानीको आयोजना इपिसिएफ मोडेलमा ४२ महिनामा निर्माण हुने

    इन्जिनियरिङ, प्रोकुमेन्ट, कन्स्ट्रक्सन तथा फाइनान्सिङ (इपिसिएफ) मोडेलमा निर्माण हुने ७५ मेगावाटको त्रिशूली गल्छी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने भएको छ । इपिसिएफ मोडेलमा चिनियाँ कम्पनीले लगानी गरेको यो दोस्रो जलविद्युत् आयोजना हो । यसअघि दोलखा र रामेछापमा निर्माणाधीन खिम्ती २ जलविद्युत् आयोजनामा चिनको चोङक्विङ वाटर एन्ड टर्वाइन वक्र्स (सिडब्लुटिडब्लु)ले ९ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ ।

    सिद्धकाली पावर लिमिटेडले प्रवद्र्धन गरेको ७५ मेगावाटको आयोजनामा लगानी गर्न चिनको छेन्दुस्थित डोङफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसन (डिइसी)ले प्रारम्भिक सम्झौता गरेको हो । सम्झौतापत्रमा सिद्धकालीका तर्फबाट कम्पनीका अध्यक्ष गुरु न्यौपाने र डिइसीका तर्फबाट कम्पनीका डेपुटी जनरल म्यानेजर छाउ बिई युले हस्ताक्षर गरेका छन् ।

    ४२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित नुवाकोट र धादिङमा निर्माण हुने उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य आगामी असारबाट सुरु हुँदै छ । १४ अर्ब ५० करोड रुपैयाँ लागतमा सम्पन्न हुने आयोजनामा चिनियाँ कम्पनीले १० अर्ब २९ करोड लगानी गर्नेछ । बाँकी ४ अर्ब रुपैयाँ नेपाली लगानीकर्तामार्फत जुटाइने अध्यक्ष न्यौपानेले बताए ।

    डिइसीले हाल चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको अपर सान्जेन र सान्जेन जलविद्युत् आयोजनामा हाइड्रोमेकानिकलको काम गरिरहेको छ । नेपालमा आफ्नो विश्वसनीयता बढाउन तोकिएको समयअगावै आयोजना सम्पन्न गर्ने कम्पनीका डेपुटी जनरल मेनेजर युले बताए ।

    नदी प्रवाह (आरओआर)मा आधारित यो आयोजनाको हेड ५५ मिटर, सुरुङको लम्बाइ ८ किलोमिटर तथा सुरुङको मोटाइ ८ मिटर रहने जनाइएको छ । त्यस्तै, आयोजनाको हेडवक्र्स तथा इन्टेक नुवाकोटमा तथा विद्युत्गृह धादिङमा पर्छ ।

    चिनियाँ कम्पनीले गरेको लगानी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको एक वर्षभित्र फिर्ता गर्नुपर्नेछ । यसमा नेपाली प्रवद्र्धकका तर्फबाट लक्ष्मी बैँकको अगुवाइमा विभिन्न ८ वटा बैंकले लगानी गर्नेछन् । साथै, आयोजनामा अपि पावर कम्पनीले निष्कासन गर्ने १ः२ बराबरको हकप्रदबाट प्राप्त रकममध्ये १ अर्ब रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ ।

    ऊर्जामन्त्री–चिनियाँ राजदूतबीच भेट
    जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । भेटमा राजदूतले रसुवा केरुङ अन्तरदेशीय प्रसारणलाइन निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

    स्रोत:नयाँपत्रीका