मुलुकभरका १ सय मेगावाटमाथिका ३० उत्कृष्ट जलाशययुक्त आयोजना तत्काल अघि बढाउन सकिने अध्ययनले देखाएको छ । इन्जिनियर खिमानन्द कँडेलले गरेको अध्ययनको आधारमा तयार पारिएको पुस्तक ‘हाइड्रोपावर पोटेन्सियल अफ नेपाल’ ले प्रदेशस्तरमा यस्ता आकर्षक आयोजनाहरू रहेको उल्लेख गरेको हो । झण्डै ३५०० मिटर उचाइसम्मको क्षेत्रलाई अध्ययन गरेर तयार पारिएको पुस्तक पाँचौ नवीकरण ऊर्जा प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बिहीबार सार्वजनिक हुँदैछ ।
सरकारले पहिचान गरेका आयोजनाहरूमध्येबाट कम पानीमा धेरै उचाइ (हाईहेड) र कम लागतमा बढी जलविद्युत् उत्पादन गर्न सकिने आयोजनाहरूलाई समेटेर उत्कृष्ट आयोजनाहरू चयन गरिएको इन्जिनियर कँडेलले जानकारी दिए । “प्रदेशस्तरमा आयोजनाहरू अघि बढाउन सजिलो हुने भएकोले नेपालको जलविद्युत् उत्पादन क्षमतासँगै तत्काल अघि बढाउन सकिने आयोजनाहरूलाई समेत पुस्तकले समेटेको छ,” उनले भने । उनका अनुसार अध्ययनमा देशभरका १ हजार ४ सय २३ वटा सम्भावित जलविद्युत् आयोजनाहरूको पहिचान गरी अध्ययन गरिएको छ ।
प्रदेश–२ मामात्र जलविद्युत् उत्पादनको सम्भावना नरहेको पुस्तकले देखाएको छ । अध्ययनका आधारमा तयार पारिएको पुस्तकमा प्रदेश १ अन्तर्गत अरुण नदीमा ९ सय मेगावाटको अरुण तेस्रो र ४ सय ५० मेगावाटको किमाथांका अरुणका साथै तमोर नदीको २ सय मेगावाटको तमोर स्टोरेज, १ सय ५५ मेगावाटको सुपर तमोर र १ सय २८ मेगावाटको तमोरमेगा अघि बढाउन उपयुक्त देखिएका छन् । यसबाहेक सोही प्रदेशमा ३ सय मेगावाटको दूधकोसी स्टोरेज र १ सय ११ मेगावाटको दूधकोसी पनि अघि बढाउन सकिने अवस्था छ । यी आयोजनाहरू १० वर्षभित्र सम्पन्न गर्न सकिने अवस्था छ । त्यसैगरी प्रदेश–३ मा सप्तकोसी नदीअन्तर्गतका ११ सय १० मेगावाटको सुनकोसी दोस्रो, ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो, ६ सय ५० मेगावाटको तामाकोसी दोस्रो र २ सय मेगावाटको खिम्ती शिवलरीका साथै त्रिशुली नदीमा ३ सय मेगावाटको लामङटाङ जलाशय र १ सय २० मेगावाटको भोटेकोसी अघि बढाउन सकिने अवस्था छ । यी आयोजना बन्न भने १० देखि १५ वर्ष लाग्नेछ ।
अध्ययनले प्रदेश–३ र ४ मा पर्ने १२ सय मेगावाटको बूढीगण्डकीका साथै ४ सय २० मेगावाटको बूढीगण्डकी पोर्कलाई उपयुक्त आयोजनाको रूपमा देखाएको छ । प्रदेश–४ मा मस्र्याङ्दी नदीमा ६ सय मेगावाटको अपर मस्र्याङ्दीका साथै कालीगण्डकी नदीको ३ र ४ प्रदेशका १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज र ३ सय ८० मेगावाटको बढीगाड जलाशयलाई राम्रो आयोजना रहेको अध्ययनले देखाएको छ । प्रदेश–५ को राप्ती नदी वेसिनको ३ सय मेगावाटको नौमुरे, १ सय मेगावाटको झिम्रुक आयोजनालाई अध्ययनले राम्रो आयोजना रहेको र १२ वर्षभित्र निर्माण गर्न सकिने उल्लेख गरेको छ । प्रदेश–६ अन्तर्गत भने भेरी नदी वेसिनको ४ सय १० मेगावाटको नलसिंहगाढ, ३ सय ७ मेगावाटको जगदुल्ला आयोजनालाई अघि बढाउन उपयुक्त आयोजना भएको देखिाएको छ । प्रदेश–६ मै कर्णाली वेसिनअन्तर्गतको १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, ६ सय ८८ मेगावाटको वेतन कर्णाली, ९ सय मेगावाटको माथिल्लो कर्णाली, ४ सय २६ मेगावाटको फुकोट र ९ सय १६ मेगावाटको कर्णाली क्यासकेट आयोजना पनि निर्माणका लागि उपयुक्त देखाइएको छ ।
पुस्तकमा प्रदेश–७ कै सेती नदीमा ७ सय ५० मेगावाटको पश्चिम सेती र २ सय १० मेगावाटको चैनपुर सेतीका साथै ६ हजार ५ सय ७० मेगावाटको पञ्चेश्वर आयोजना अघि बढाउन उपयुक्र्त रहेको उल्लेख छ ।
नेपालको जलविद्युत् क्षमता सम्बन्धी गरिएको अध्ययन अनुसार जलविद्युत् आयोजनाको डिजाईन पानीको वहाव (क्यू) क्षमता २०, ४०, ६० र ८० प्रतिशत (वार्षिक पानी उपलब्धता) मा क्रमशः १ लाख ४७ हजार ५ सय ३५ मेगावाट, ५६ हजार २ सय ७७ मेगावाट, २७ हजार १ सय २७ मेगावाट र १८ हजार ४ सय ७१ मेगावाट देखिएको छ । यसैगरी ऊर्जा उत्पादनलाई आधार मान्ने हो भने माथिको पानीको उपलब्धताअनुसार क्रमशः वार्षिक ऊर्जा क्षमता ४ लाख ७० हजार ८९.२२ गिगावाट आवर, २ लाख ७४ हजार ७ सय ९० गिगावाट आवर, १ लाख ७३ हजार ८ सय ४६ गिगावाट आवर र १ लाख ३० हजार २ सय ३२ गिगावाट रहेको पुस्तकमा उल्लेख छ । आयोजनाहरूलाई विकास गर्न सकेमा नेपालको वार्षिक औषत ऊर्जा क्षमता ७९ हजार ७ सय ३ मेगावाट र वार्षिक ऊर्जा उत्पादन ५ लाख ६९ हजार ९ सय ६३ गिगावाट आवर हुन आउने अध्ययनले देखाएको छ ।
भीम गौतम
स्रोत:कारोबार