विद्युतीकरणका लागि वन कटान

    1341

    एक रूख बराबर २५ बिरुवा रोप्ने सहमति

    नेपालगन्ज — राप्तीपारिको विकट क्षेत्रका गाउँमा विद्युत् लाइन विस्तार गर्न सामुदायिक वनभित्रका रूख काट्न थालिएको छ  । राप्तीपीडित र समय भवानी सामुदायिक वनको २.२ हेक्टर क्षेत्रफलभित्र पर्ने २ सय १४ रूख काट्न लागिएको हो  ।

    कोहलपुर–धामपुर–तीन घरवा–अलिनगर ३३ केभी विद्युत् प्रसारण लाइन विस्तार हुँदै छ । ५.३ किलोमिटर प्रसारण लाइन सामुदायिक वन क्षेत्रभित्र परेको छ । वन मन्त्रालयले वनक्षेत्र भोगाधिकार दिएपछि विद्युत् विस्तारको काम सुरु भएको हो । यसअघि करिब दुई दशकदेखि विद्युत् विस्तारको काम सुरु गरिए पनि अलपत्र पर्दै आएको थियो ।

    बाँकेका संघीय सांसद महेश्वर गहतराज र प्रदेश सांसद कृष्णा केसीलगायत सरकारी अधिकारीको रोहबरमा सोमबार सामुदायिक वनका रूख काट्न सुरु गरिएको हो । ‘आउने वैशाख महिनाभित्रै बाँकेको विकट राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा विद्युत् पुग्ने गरी काम थालिएको छ,’ संघीय सांसद गहतराजले भने, ‘त्यस क्षेत्रका सबै गाउँमा बिजुली पुर्‍याउने लक्ष्य छ ।’

    उनले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनका अनुसार संघीय सरकारले विद्युत् विस्तारका लागि ९० प्रतिशत लगानी गर्नेछ । डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख गणेशबहादुर खड्काले मन्त्रालयले विद्युतीकरणका लागि भोगाधिकार गर्न दिएपछि रूख कटानको काम सुरु भएको बताए ।

    उनका अनुसार विद्युतका लागि कटान हुने एक रूख बराबर २५ बिरुवा वन कार्यालयले तोकेको क्षेत्रमा प्राधिकरणले रोप्ने सहमति भएको छ । उक्त बिरुवा दुई वर्षभित्रै रोपिसक्नु पर्नेछ । रूख कटान चैतभित्रै सकिनेछ । त्यसलगत्तै मुख्य विद्युत लाइन विस्तार गरिनेछ । राप्तीपारिका दुई गाउँपालिकाका सर्वसाधारण हालसम्म बिजुली बत्तीबाट वञ्चित छन् ।

    प्राधिकरण कार्यालय नेपालगन्जका निमित्त प्रमुख गणेशदत्त भट्टले विद्युतीकरणको काम तीव्र गतिमा सुरु हुने प्रतिबद्धता जनाए । उनले विद्युतका लागि आवश्यक पोल, तारलगायत आइसकेको बताए । ‘विद्युत् विस्तारमा कुनै ढिलाइ हुने छैन,’ उनले भने । केही दिनअघि बाँकेको विकट मानिने राप्ती सोनारी गाउँपालिका १, खासकुस्मामा पहिलोपल्ट बिजुली विस्तार भएको छ । त्यहाँका करिब चार सय घरमा विद्युत् मिटर वितरण भइसकेको छ ।

    बघौडा क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा विद्युत् विस्तारको काम दुई दशकअघि सुरु गरिएको थियो । तर, पछिल्लो नौ वर्षयता वनका रूख काट्न अनुमति नपाएको भन्दै काम रोकिएको थियो । राप्तीपारि विद्युत् विस्तारका लागि १३ वटा ट्रान्सफर्मर जडान भइरहेको छ ।

    राप्तीपारि विद्युतीकरणका लागि ३३ केभी लाइन विस्तारमा बिनौना–फत्तेपुर–गंगापुर, कटकुइया–मटैया–कालाफाँटा–लक्ष्मणपुर, कोहलपुर–धामपुर र नरैनापुर–वैजापुर तथा धामपुरमा सबस्टेसन गरी पाँच भागमा बाँडिएको छ । कोहलपुरदेखि राप्तीपारि धामपुरसम्म विद्युत् पोल जडान भइसकेका छन् ।

    ठाकुरसिंह थारू

    स्रोत:कान्तिपुर