जलविद्युत आयोजनामा दैनिक १ सय ५० जनालाई रोजगारी

    1182

    मङ्सिर १९, म्याग्दी । हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनामा दैनिक १ सय ५० जनाले रोजगारी पाएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । यी जलविद्युत आयोजनाबाट स्थानीयले रोजगारी पाउनुका साथै मासिक न्यूनतम १५ हजारदेखि ५० हजारसम्म कमाइ गर्दै आएका स्थानीय २९ वर्षीय वीरबहादुर पुनले बताए ।

    पाँच वर्षदेखि घलेम्दीमा सुरुङमार्गको सहइन्चार्ज भएर काम गरिरहेका पुन गाउँमै रोजगारी पाएपछि मख्ख छन् । त्यसैगरी स्थानीय नरेश पुन केही वर्ष कतार बसेर स्वदेश फर्किए । गाउँका सबै युवा जलविद्युतका काममा व्यस्त बनेको देखेर उनलाई विदेश मोह हट्यो । तीन वर्षदेखि उनी घलेम्दीमै कामदारका नाइके छन् । ‘म विदेश जाने बेलामा जलविद्युत् आयोजना बन्ने भन्ने हल्ला मात्रै थियो, फर्केर आउँदा सबै निर्माण चरणमा थिए’, नरेश भन्छन् ‘क्षमता अनुसारको काम पनि पाइयो अहिले ठिकै छ ।’

    गाउँमै पाएको जागिरले उनलाई कतारको भन्दा बढी सन्तुष्टि दिएको छ । नरेश भन्छन्, ‘काम गर्ने हो भने नारच्याङ र आसपासका कोही पनि युवा त्यतिकै बस्नुपर्दैन, कामदार नभएर कम्पनीले बाहिरबाट ल्याउँछन्, त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ ।’ घलेम्दी र मिस्त्रीले भारी बोक्नेदेखि गिट्टी, बालुवा कुटनेसम्म स्थानीयलाई प्राथामिकता दिएका छन् । उनीहरूले क्षमता र कम्पनीको नियमअनुसार १५ हजारदेखि ५० हजार रुपैयाँसम्म मासिक तलब बुझ्छन् ।

    स्थानीय महेन्द्र गर्बुजाका अनुसार घलेम्दी र मिस्त्रीमा दैनिक १५० जनाले काम पाइरहेका छन् । ‘अब निलगिरिले पनि कामदार खोजिरहेको छ, अब त रोजीरोजी जागिर गर्न पाइन्छ’, उनी भन्छन्, ‘गाउँमा जलविद्युत् आयोजनाले नै परिवर्तन हुँदोरहेछ भन्ने कुरा बुझ्दैछौं ।’ स्थानीयले आयोजनामा काम मात्र होइन त्यहाँ काम गर्ने कामदारका लागि किराना पसलदेखि होटेलसमेत सञ्चालन गरी आत्मनिर्भर बन्न थालेका छन् । घलेम्दीको विद्युतगृह र मिस्त्रीको बाँधस्थल एकै स्थानमा पर्छ ।

    अहिले त्यहाँ करिब दुई सय कामदार छन् । त्यसैलाई लक्षीत गरेर स्थानीय धनबहादुर पुनले किराना पसल सञ्चालन गरेका छन् । त्यहाँको व्यापारबाट उनी सन्तुष्ट छन् । ‘कामदारले मात्र होइन जलविद्युत् आयोजनाको अवलोकनका लागि हरेक दिन विभिन्न ठाउँका पर्यटक पनि आउँछन् त्यसैले व्यापार राम्रै छ’, दुई वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका पुनले भने । नारच्याङका वडाअध्यक्ष चन्द्रप्रसाद फगामी गाउँमा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई राम्रो रोजगारी प्रदान गरिरहेको बताउँछन् । ‘गर्छु र कमाउँछु भन्ने युवालाई अहिले समस्या छैन ।

    ‘आयोजनामा जति पनि काम पाउँछन्’, उनी भन्छन्, ‘अहिले विदेश जाने युवाको सङ्ख्या पनि निकै कम भएको छ ।’ कम्पनी आफैंले भौतिक संरचनाको काम गरिरहेकाले घलेम्दीले तुलनात्मक रूपमा स्थानीयलाई बढी प्राथामिकता दिएका छन् । मिस्त्रीको निर्माण ठेक्कामार्फत भइरहेको छ भने निलगिरिले पनि सोहीअनुसार काम गर्ने तयारी गरिरहेको छ । ‘ठेकदारमार्फत काम गर्दा दक्ष जनशक्ति मात्र खोजिदो रहेछ, तर घलेम्दीले स्थानीयलाई निकै राम्रो गरेको छ’, वडाअध्यक्ष फगामी भन्छन्, ‘घलेम्दीमा स्थानीयले धेरथोर लगानी पनि गरेका छन् ।’

    स्रोत्: अभियान