खिम्ती–ढल्केबर प्रसारण लाइन स्थानीय अवरोधले अलपत्र

    2296

    wpid-powerlines.jpegकाठमाडौं – स्थानीयवासीको अवरोधका कारण खिम्ती–ढल्केबर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अलपत्र परेको छ। यो प्रसारण लाइनअन्तर्गत सिन्धुलीको सिन्दुरेमा स्थानीयले ६ वटा पोल खडा गर्न दिएका छैनन्। तीन वर्षअघि निर्माण गर्ने लक्ष्य राखिए पनि स्थानीयकै अवरोधले प्रसारण लाइन अलपत्र परेको छ। यसमा विश्व बैंकको ७० करोड रुपैयाँ ऋण सहयोग छ।

    ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले पटकपटक प्रयास गरे पनि स्थानीयले निर्माणमा अवरोध गर्न छाडेका छैनन्। यसमा एकीकृत माओवादीको उपल्ला तहका नेताले स्थानीयलाई उचालेको मन्त्रालयका एक अधिकारीले बताए।

    ‘स्थानीयले के खोजेका हुन् बुझ्न सकिएको छैन,’ ऊर्जा मन्त्रालयका प्रवक्ता श्रीरञ्जन लाकौलले नागरिकसँग भने, ‘उनीहरुको माग मात्रै हो वा त्योबाहेक अन्य अन्तर्निहित विषय पनि छन् बुझ्न सकिएको छैन।’ उनका अनुसार विश्व बैंकले पनि प्रसाराण लाइनमा अवरोध भएकोप्रति चासो व्यक्त गरिसकेको छ।

    लाकौलले पोल गाड्न आवश्यक जग्गाको मुआब्जाबाहेक प्रसारण लाइनमुनि पर्ने जग्गा अधिग्रहण गरी मोटर बाटो निर्माण गर्ने सरकारी प्रस्ताव स्थानीयले नमानेको बताए।

    सरकारले दिएको मुआब्जा कम भएको भन्दै स्थानीयले अवरोध गरेको आयोजनाका एक अधिकारीले बताए। स्थानीय स्तरमा सक्रिय विभिन्न राजनीतिक संगठनका प्रतिनिधिले पूरा गर्नै नसकिने माग अघि सारेर अवरोध गरेको ती अधिकारीले बताए। ‘उनीहरुको माग सम्बोधन गर्न कुनै पनि नीति र नियमले सक्दैनन्,’ उनले भने, ‘त्यसका लागि नयाँ नियम नै बनाउनुपर्छ।’

    ती ६ वटा पोल करिब ३ किलोमिटर दूरीमा खडा गर्नुपर्छ। अन्यन्त्र तार टाँग्ने कामसमेत भइसकेको छ। अवरोध नहुने हो भने करिब ३ महिनाभित्रै प्रसारण लाइन निर्माण सकिने अधिकारी बताउँछन्।

    प्रसारण लाइन निर्माणपछि तामाकोसी कोरिडोरमा उत्पादन हुने विद्युत पूर्वका बढी विद्युत खपत हुने सुनसरी, मोरङलगायत जिल्लामा सोझै आपूर्ति गर्न सकिन्छ। खिम्ती, भोटेकोसी आयोजनाबाट उत्पादित बिजुली हाल काठमाडौं हुँदै पूर्व पठाइन्छ। प्रसारण लाइन सञ्चालनमा आएपछि तीसहित अन्य आयोजनाबाट उत्पादित विद्युत काठमाडौंमा आपूर्ति गरी यहाँबाट पूर्व पठाउने बाध्यता हट्छ।

    यसले प्रधिकरणको ‘टेक्निकल लस’ (प्राविधिक चुहावट) कम गर्नेछ। भरतपुर–हेटौंडा प्रसारण लाइनको भार पनि घटाउनेछ। घुमाएर लामो रुटबाट विद्युत आपूर्ति गर्दा दैनिक लाखौं युनिट विजुली गुमाउनुपरेको प्राधिकरणको भनाइ छ। चुहावटका कारण प्राधिकरणले दैनिक एक लाख २५ हजार युनिटभन्दा धेरै विद्युत गुमाइरहेको छ। ७५ किलोमिटर लामो यो प्रसारण लाइन देशकै सबैभन्दा ठूलो क्षमता र डबल सर्किटको हो। यसले हजार मेगावाट विद्युत आपूर्ति थेग्न सक्छ।

    @नागरिक