मध्य मर्स्याङदीको ‘लेफ्ट ब्यांक’ मा समस्या

    1776

    माघ १२, २०७३- आठ वर्षअघि बनेको ७० मेगावाटको मध्य मर्स्याङदी जलविद्युत् आयोजनाको बायाँ किनारा (लेफ्ट ब्यांक) मा सधैं समस्या भइरहने गरेको छ । आयोजनाको जलाशयमा चितीतर्फको बाँध नजिकै पहिरो खस्ने, पर्खाल भत्किने र प्लास्टर उप्किने ‘रक सिल’ क्रम बर्सेनि बढ्दो छ ।

    उदिपुर र चिती गाविसमा रहेको जलाशय बाँध क्षेत्र र टर्बाइनमा बालुवाको कण जम्ने गरेकाले विद्युत् उत्पादन नै बन्द गरेर २/२ वर्षको फरकमा आयोजनाले मर्मत गर्दै आएको छ । जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमका अनुसार मस्र्याङ्दीको बग्दो चापले सीधै लेफ्ट ब्यांकमा हान्ने गरेकाले समस्या आएको हो । दुई वर्षको अन्तरमा बृहत् मर्मत गरिँदै आएको उनले बताए ।

    ‘नियमित मर्मत भइरहन्छ,’ उनले भने, ‘बायाँ किनाराको समस्याका कारण विद्युत् उत्पादन नै बन्द गरेर मर्मत गर्नुपर्ने देखियो ।’ उनले फागुन अन्तिम साता र चैतको पहिलो साता १० देखि १२ दिनसम्म पूरै विद्युत् उत्पादन बन्द गरेर मर्मत गर्ने तयारी गरिएको जनाए । मर्मतका क्रममा ड्यामका तीनवटै गेट, रेडियल गेट, तीनवटै डिसेन्डर (पानी थिग्रयाउने पोखरी) को मर्मत गरिने भएको हो । उनका अनुसार रेडियल गेटको रिपियर, सिल र प्लेटहरू फेर्ने, डिसेन्डर मर्मत र ठाउँठाउँमा देखिएका ‘इरोर’ को ‘रिपियर’ पनि हुनेछन् ।

    ‘कम्प्लिट्ली प्लान्ट सर्टडाउनका लागि १५ दिन माग गरेका छौं । सर्ट डाउन गरेर लेफ्ट ब्यांकको ग्याबिन (पर्खाल) लगाइनेछ,’ उनले भने । यसका लागि २ करोड रुपैयाँको टेन्डर भएर प्रक्रिया अघि बढिसकेको उनले बताए । ‘सोचेअनुरूपको काम गर्न सकियो भने दुई वर्षलाई ढुक्क हुन्छ,’ उनले भने । मध्य मर्स्याङदीले गत वर्ष गरेको फलसङ (ड्यामको गेट खोलेर बालुवा बगाउने कार्य) गरेको थियो । त्यतिबेला बायाँ किनाराको भित्तामा पानीले खोतलेर पहिरो झरेको भन्दै यस वर्ष मर्मत गर्नुपर्ने जानकारी विद्युत् प्राधिकरणमा पठाएको छ ।

    बृहत् मर्मतअघि फागुन १ देखि युनिट नं. १ बन्द गरेर टबाईन फेरिने उनले बताए । एकमहिने युनिट सर्टडाउनको क्रममा रनर फेर्ने र इलेक्ट्रिक कन्ट्रोल सिस्टम क्लियर गरिनेछ । ‘रनर मर्मत भएर आइसकेको छ । युनिट सर्टडाउन गरेर फेर्न मात्रै बाँकी हो,’ उनले भने, ‘यो काममा प्राधिकरणका इन्जिनियर तथा प्राविधिक खटिनेछन् ।’ युनिट १ को मर्मत हुँदै गर्दा युनिट २ बाट नियमित विद्युत् उत्पादन भइरहने उनले जनाए ।

    ‘मोडलिङ’ को समस्याले ५/५ वर्षमा गरिने भनिएको मर्मत कार्य २/२ वर्षमा हुँदै आएको छ ।

    स्रोत:कान्तिपुर