माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्ने

    1122

    निर्माणमा स्वदेशीलाई अवसर दिने जीएमआरको प्रस्ताव

     

    काठमाडौं : भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा बेच्ने समझदारी भएको छ ।

    आयोजनामार्फत उत्पादन भएको बिजुली भारतको भूमि हुँदै बंगलादेशमा बेच्नेगरी समझदारी भएको हो । भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लिमिटेडमार्फत बंगलादेशलाई बिजुली बेच्ने समझदारी भएको जनाइएको छ ।

    जीएमआरका चिफ अपरेसनल अफिसर हरबिन्दर मनोजाले ४ सयदेखि ५ सय मेगावाट बिजुली बंगलादेशलाई बेच्ने समझदारी भएको जानकारी दिए । “बंगलादेशसँग प्रारम्भिक समझदारी भएको छ, त्यहाँको टोलीले छिट्टै माथिल्लो कर्णालीको भ्रमण गरेपछि विद्युत् खरिद सम्झौता (पीपीए) पनि हुनेछ,” उनले भने ।

    जीएमआर र एनएनभीआरबीच भएको समझदारीअनुसार बंगलादेश बिजुली लैजाने योजना राखेको आयोजनाले भारतकै हरियाणामा तीन सय मेगावाट बराबर बिजुली बेच्ने समझदारी भएको छ तर यसको पीपीए हुन बाँकी छ ।

    बुधबार लगानी बोर्ड र जीएमआरले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको माथिल्लो कर्णाली निर्माणमा नेपालका उद्योगधन्दाहरुको अवसरबारेको कार्यक्रममा मनोजाले माथिल्लो कर्णाली असफल भएमा नेपालमा भारतको लगानीसमेत अघि बढ्न नसक्ने बताए ।

    नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) अनुसारका अन्तरदेशीय व्यापारबारे स्पष्ट नीति बन्न बाँकी रहेको, वन क्षेत्रमा जग्गा प्राप्तिमा ढिलाइ लगायतका केही समस्या रहेको भन्दै उनले सार्क राष्ट्रबीचको पीटीए कार्यान्वयनका लागि अघि बढ्न अझ सहज हुने उनले बताए ।

    कार्यक्रममा जीएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक सिमेन्ट, स्टील, ढुंगा, वालुवा लगायतका निर्माण सामग्रीहरुका साथै  कानुनी सहायकता, परामर्शदाता लगायतको स्वदेशी जनशक्ति उपलब्धताबारे प्रस्ताव समेत गरेको छ ।

    माथिल्लो कर्णाली निर्माणका लागि ठेक्कामा सहभागी भारत, चीन, साउदी अरेबिया लगायतका देशका ठेकेदार कम्पनीका प्रतिनिधिसमेत सहभागी कार्यक्रममा जीएमआरका चिफ अफिसर मनोजाले उपलब्ध हुने सामग्रीहरु निर्माणका लागि उपयोग गर्ने बताएका थिए ।

    कार्यक्रममा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा, स्टील उत्पादक संघका अध्यक्ष साहिल अग्रवाल, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन, नेपाल बैकर्स एशोसियसनका अध्यक्ष अनिलकुमार शाह लगायतले आयोजना निर्माणका लागि आवश्यक सामग्री तथा त्यसका लागि लगानी गर्न तयार रहेको बताएका थिए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं लगानी बोर्डकी सदस्य भवानी राणाले जलविद्युत् आयोजना निर्माण गर्दा उद्योग व्यवसायको वृद्धिदेखि देशको दिगो आर्थिक विकासमा समेत सहयोग पुग्ने भन्दै त्यसमा सहजीकरण गर्न महासंघ तयार रहेको बताइन् ।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आयोजना निर्माणका लागि स्थानीय ५ हजारभन्दा बढीले रोजगारी पाउने जानकारी दिँदै ठूलो संख्यामा उद्योग, सेवा, कानुनी र इन्जिनियरिङ क्षेत्रमा समेत स्वदेशीलाई अधिकतम उपयोग गर्न सकिने बताए । यस्तै, बोर्डका सहसचिव मधुप्रसाद भेटुवालले आयोजना निर्माण गर्दा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने बताए ।

     स्रोत:कारोबार