क्रेनको तार चुँडिएपछि माथिल्लो तामाकोसीको काम प्रभावित

1023

वैशाख २४, २०७६

काठमाडौँ — पेनस्टक पाइप जडानको क्रममा क्रेनको तार चुँडिएपछि दोलखामा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाको काम प्रभावित बनेको छ । तीन दिनअघि तार चुँडिएपछि काम प्रभावित बनेको आयोजनाका प्रबन्धक विज्ञान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चुँडिएको तार मंगलबार नै आयोजनास्थल पुगिसक्नेछ । चुँडिएको तार फेरेपछि पुनः काम सुचारु हुने उनले जानकारी दिए । ४ सय ५६ मेगावाटको आयोजनामा पेनस्टक जडानको काम मात्रै बाँकी छ ।

आयोजनाको हेडवक्र्स, पावरहाउस र सुरुङ निर्माणको काम लगभग पूरा भइसके पनि ठाडो सुरुङमा पेनस्टक पाइप राख्न भने चुनौतीपूर्ण मानिएको छ । अहिले माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्डि्रज हाइड्रो र तल्लो सुरुङमा भारतीय कम्पनीले टेक्सम्याकोले गरिरहेको छ । तल्लो सुरुङमा पेनस्टक पाइप जडान गर्ने क्रममा क्रेनको तार चुँडिएको छ ।

आयोजनाको माथिल्लो र तल्लो पेनस्टक साफ्टमा पेनस्टक पाइप जडान गर्नुपर्नेछ । ५ मिटर लम्बाइ भएका एउटा पाइपको तौल २७ टन हुन्छ । सुरुङभित्र पाइप जडानका लागि क्रेन जडान गरिएको थियो । माथिल्लो र तल्लो सुरुङलाई जोड्ने गरी वेन्ड पेनस्टक पाइप भने जडान भइसकेको छ ।

आयोजनाको हेडवक्र्स संरचनाको परीक्षण भने आगामी महिना सुरु गर्ने तयारी छ । हेडवक्र्समा बाँधको संरचना र पानी नियन्त्रणका लागि हाइड्रोलिक गेट जडान गर्ने काम सकिएको छ । आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो । भारतीय कम्पनीले काममा ढिलाइ गरेपछिआधा कामको जिम्मा एन्डि्रज हाइड्रोलाई दिइएको हो । आयोजना, टेक्सम्याको र एन्डि्रजबीच पुस २३ मा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।

आयोजनाको निर्माण गत पुसमा सक्ने लक्ष्य लिइएको भए पनि ठेकेदार कम्पनीको ढिलाइ कारण आगामी पुसमा पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ तालिका निर्धारण गरिएको छ । २०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजनामा निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएको थियो ।

पूर्णतः नेपाली लगानीमा निर्माण भइरहेको यो आयोजनाको लागत बढेर करिब ७० अर्ब पुग्ने अनुमान छ । निर्माणमा भएको ढिलाइले निर्माण अवधिको ब्याज साढे ६ अर्ब थपिने र कुल लागतमा साढे २० अर्ब थपिने संशोधित अनुमान गरिएको छ ।महँगी, विदेशी मुद्राको विनियम दरमा आएको परितर्वन, आयोजनाको ढिलाइका कारण लागत महँगो हुन गएको आयोजनाले जनाएको छ ।

आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थानले लगानी गरेका छन् । आयोजनामा प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २-२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाले निर्माण पूरा भएपछि नेपाल ऊर्जामा भारत निर्भर हुनु नपर्ने अनुमान छ ।
स्रोत:कान्तिपुर