आठ वर्षमा पनि बनेन सिँगटी–लामोसाँघु प्रसारण लाइन

    1588

    लाइन नबन्दा सिप्रिङ खोलाको बिजुली खेर

    चरिकोट, ३० फागुन

    २ वर्षमा पूरा गर्ने गरी ८ वर्षअघि ठेक्का सम्झौता भएको सिँगटी–लामोसाँघु प्रसारण लाइन अलपत्र परेको छ । प्रसारण लाइन नबन्दा सिप्रिङ खोला (१० मेगावाट)लगायत विद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको छ । समयमै काम नसकिँदा लगानीकर्ताले ५ वर्षदेखि वार्षिक करोडौँ घाटासमेत बेहोर्दै आएका छन् ।

    सिँगटी–लामोसाँघु प्रसारण लाइन १३२ केभी क्षमताको हो । प्रसारण लाइन निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरले आर्थिक संकट देखाउँदै काममा ढिलाइ गरेपछि काम रोकिएको हो । निर्धारित समयमा काम नसक्ने ठेकेदारसँग नेपाल विद्युत् प्राधिकरणले चारपटक सम्झौता नवीकरण गरेको छ । चौथोपटक थपिएको समयअनुसार जेठ ०७५ सम्म काम पूरा गर्नुपर्नेछ।

    ०६७ बाट निर्माण थालिएको प्रसारण लाइन सुरुका २ वर्ष तीव्र गतिमा अघि बढेको थियो । ०६९ देखि चैत ०७३ सम्म आर्थिक संकटको कारण देखाउँदै ठेकेदारले काम रोकेको थियो । यसपछि प्राधिकरणले ठेक्का सम्झौता तोडेर नयाँ ठेकेदार नियुक्त गर्ने तयारी थालेको थियो ।

    नयाँ ठेक्का पक्रियामा जाँदा धेरै समय लाग्ने भन्दै जलविद्युत् आयोजना निर्माण गर्ने निजी प्रवद्र्धकले पुरानै ठेक्कालाई निरन्तरता दिन आग्रह गरेपछि पुरानैलाई सदर गरिएको थियो । आयोजनाको सिँगटी सबस्टेसनको काम भने ८० प्रतिशत पूरा भएको छ । प्राधिकरण, निजी क्षेत्र र ठेकेदारबीच भएको समझदारीपछि ठेकेदारले गत वैशाखबाट प्रसारण लाइन निर्माण सुचारु गरेको छ ।

    जग्गा अधिग्रहण र मुआब्जा वितरण जारी
    ठेकेदारले प्रसारणलाइन विस्तार रोके पनि जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत काम भने नरोकिएको विद्युत् प्राधिकरणले जनाएको छ । सिँगटी–लामोसाँघु प्रसारण लाइनको ४० प्रतिशत काम पूरा भएको प्राधिकरणको दाबी छ । दोलखाको सिँगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघु (४० किलोमिटर)सम्म १ सय २५ वटा टावर निर्माण गरिनेछ ।

    टावर ठड्याउन ४० वटा फाउन्डेसन तयार भएको आयोजना प्रमुख राजन ढुंगेलले बताए । बाँकी टावरको फाउन्डेसन असारसम्म सकिने र टावरको तार तान्ने काम १ वर्षमा पूरा हुने उनले बताए । उनका अनुसार सिँगटी र लामोसाँघुमा दुई सबस्टेसन निर्माण हुनेछन् । आयोजना प्रमुख ढुंगेलले सामान आयातमा भन्सारको समस्याले काममा ढिलाइ भइरहेको बताए ।

    भारतीय कम्पनी अरावलीले काम नगरेपछि खानीखोला–१ का प्रवद्र्धकहरूले भारतमै पुगेर ०७१ मा सो कम्पनीसँग सम्झौता गरेका हुन् । उनीहरूले फाउन्डेसनको काम सुरु गरेलगत्तै वैशाख ०७२ मा भूकम्प गयो । त्यसपछिको नाकाबन्दीले १ वर्ष काम ठप्प भयो ।

    आधा दर्जन आयोजना अन्योलमा
    प्रसारण लाइनको कुल लागत करिब ४२ करोड छ । प्रसारण लाइन तयार भएपछि दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१, ३० मेगावाटको खानीखोला, २५ मेगावाटको सिंगटी, ११ मेगावाटको तल्लो खारेखोला, २४.१ मेगावाटको खारेखोला, १० मेगावाटको सिप्रिङ खोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ । प्रसारण लाइन नबनेकै कारण सबै आयोजना अन्योलमा छन् ।

    प्रसारण लाइन नभएको बहाना बनाउँदै निर्माणाधीन आयोजनाहरूको काम पनि सुस्त छ । त्यसैगरी, आयोजनाको लागतसमेत बढिरहेको प्रवद्र्धकहरू बताउँछन् । खारेखोला हाइड्रोपावरका सञ्चालक जिपछिरिङ लामाले हतार–हतार आयोजना बनाउन प्रसारण लाइनका कारण अन्योल भएको बताए ।

    स्रोत:नयाँपत्रीका