माथिल्लो तामाकोसीको न्यूनतम सेयर किन्न जिल्लावासीलाई स्थानीय सहकारीले लगानी गर्ने

    1275

    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा न्यून आय भएका स्थानीयलाई न्यूनतम ३० कित्ता सेयर खरिद गर्न सहकारी संस्थाहरूले लगानी गर्ने भएका छन् ।

    माथिल्लो तामाकोसी आयोजनाले प्रभावित दोलखावासीलाई केही महिनाभित्रै सेयर निष्कासन गर्ने निर्णय गरेपछि दोलखाका सहकारी संस्थाहरूले उक्त निर्णय गरेका हुन् । न्यूनतम ३० कित्ता सेयर पनि खरिद गर्न नसक्ने सेयर सदस्यहरूलाई सोही अनुपातको कर्जा प्रवाह गर्ने निर्णय गरिएको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए । उनले भने, ‘संस्थामा आबद्ध हुँदाहुँदै पनि कुनै पनि दोलखाली माथिल्लो तामाकोसीको सेयर खरिद गर्नबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो ।’ सहकारी संस्थाहरूको यो अभियान सराहनीय भएको भन्दै ऋण व्यवस्थापन गर्न नेफ्स्कुन र राष्ट्रिय सहकारी बैंकमार्फत सदस्यहरूलाई कर्जा प्रवाह गर्न सकिने डिभिजन सहकारी कार्यालय दोलखाका प्रमुख टोपलाल अर्यालले बताए ।

    ३० देखि ३०० कित्तासम्म लगानी गर्ने
    आयोजना प्रभावित दोलखावासीले न्यूनतम ३० कित्तादेखि अधिकतम ३ सय कित्तासम्म लगानी गर्न पाउने भएका छन् । जिल्ला समन्वय समिति र जनप्रतिनिधि सम्मिलित बैठकले दोलखावासीलाई अति प्रभावित, प्रभावित र कम प्रभावित गरी ३ वर्गमा विभाजन गरी सेयर वितरण गर्ने निर्णय गरेको छ ।

    आयोजना प्रभावितपछि साधारण सेयर जारी हुने
    माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार दोलखावासीलाई सेयर निष्कासन गरिसकेपछि मात्र साधारण सेयर (आइपिओ) निष्कासन हुनेछ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँबराबरको साधरण सेयर निष्कासन गर्न लागेको हो ।

    दोलखावासीलाई १ करोड ५ लाख ९० हजार कित्ता सेयर
    दोलखावासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँबराबरको सेयर आउँदो पुससम्म निष्कासन गर्ने अपर तामाकोसीका प्रवक्ता गणेश न्यौपानेले बताए । २०७१ मा जिल्ला विकास समितिले गरेको सर्वेक्षणअनुसार दोलखाको कुल जनसंख्या २ लाख ८२ हजार १ सय २५ छ । जसमा अति प्रभावित ‘क’ वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको बाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६ सय ९४ रहेको छ ।

    क–कसले पाउँछन् सेयर
    दोलखा जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएका सबै सेयर पाउन योग्य रहेका छन् । त्यस्तै, सेयर लगानी गर्ने अन्तिम मितिसम्म दोलखामा जन्मदर्ता भएका बालबालिका र विवाह भई आएका महिलाले विवाहदर्ता प्रमाणपत्रका आधारमा सेयर पाउँछन् । सेयर दिने प्रयोजनका लागि जिविस दोलखाले ३ वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । अन्य क्षेत्रबाट बसाइ सरी आउनेको हकमा तामाकोसीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेसम्म दोलखामा बसाइँ सरेकाहरूले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।

    स्रोत : नयाँ पत्रिका