तामाकोसी तेस्रोको क्षमता नघटाउन माग

    1520

    तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको क्षमता नघटाउन दोलखाका सांसदहरूले ऊर्जामन्त्रीसमक्ष माग गरेका छन् । ६५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत् आयोजना क्षमता नघटाई निर्माणको काम यथाशीघ्र अघि बढाउन ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष माग गरेका छन् ।
    दोलखाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ जना सांसद तथा दलका नेताले बिहीबार संयुक्त रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई मागपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । सांसदहरूले तामाकोसी तेस्रो जलविद्युत् आयोजना दोलखा जिल्ला, ३ नम्बर प्रदेश र समग्र मुलुकको भविष्यसँग जोडिएको भन्दै तत्काल निर्माणअघि बढाउन भनेका छन् । न्यूनतम् ६५० मेगावाट नघट्ने गरी गरी आयोजनाको सम्पूर्ण काम यथाशीघ्र अघि बढाउन जोडदार माग गरिएको प्रदेशसभा सांसद विशाल खड्काले जानकारी दिए । “तामाकोसी तेस्रोको सुन्दरता भनेकै आयोजनाबाट नदीमा लामो जलाशय बन्छ, त्यसबाट पर्यटन विकाससहित बहुउपयोगी हुन्छ,” उनले भने, “जसले बनाए पनि हुन्छ तर क्षमता घटाउन हुदैन ।”
    ५ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना कानुनी रूपमा नै लगानी बोर्डको क्षेत्राधिकारभित्र पर्ने भएकाले ऊर्जा मन्त्रालयले कम्पनीलाई दिएको सर्वेक्षण लाइसेन्स खारेज गर्न माग गर्दै परेको रिटमाथि गत कात्तिक २२ गते सर्वाेच्चले अन्तरिम आदेश दिएको थियो । तर, सर्वाेच्चले सो रिटमाथि गत पुसमा पुनः सुनुवाइ गर्दै तामाकोसी तेस्रोसम्बन्धी अन्तरिम आदेशलाई कायम राख्न नपर्ने ठहर गरेपछि आयोजना निर्माणका लागि बाटो खुलेको थियो । आयोजनाको लागत करिब १ खर्ब ३० अर्ब लाग्ने अनुमान गरिएको छ । तामाकोसी तेस्रोको नर्बेजियन कम्पनी स्टाटक्राफ्टले ६५० मेगावाटमा निर्माण गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिसकेको छ । लगानी बोर्डसँगको वार्तामा २ वर्ष अघिमात्र उसले हात झिकेको थियो ।

    तामाकोसी पाँचौंको कामअघि बढाउन माग
    दोलखाका सांसदहरूले १ सय १ मेगावाटको तामाकोसी पाँचौंको काम अविलम्ब अघि बढाउन र स्थानीयवासीलाई भरपुर रूपमा सेयर सुनिश्चित हुने गरी सेयर संरचना बनाउन पनि माग गरेका छन् । मागपत्रमा ठोसे–खिम्ति जलाशययुक्त आयोजनको विस्तृत अध्ययन गरी यथाशीघ्र कामअघि बढाउन बजेटको व्यवस्था गर्न तथा विद्युतीकरण हुन बाँकी दोलखाका सबै गाउँबस्तीमा आगामी आर्थिक वर्षभित्र विद्युतीकरण सक्ने गरी कार्यक्रम र बजेटको व्यवस्था गर्न माग पनि गरिएको छ । ऊर्जामन्त्री पुनले तामाकोसी तेस्रोको लाइसेन्स वितरणको विषयलाई कानुनी र प्राविधिक रूपमा समाधान गर्ने बताएको सांसद विशाल खड्काले जानकारी दिए । तामाकोसी तेस्रोसहित अन्य मागलाई मन्त्रीज्यूले सकारात्मक रूपमा लिएको खड्काले जानकारी दिए । छलफलमा ऊर्जासचिव डा. संजय शर्मा र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि सहभागिता थियो ।

    -कारोबार