कुनबान खोला जलविद्युत् आयोजनाको पीपीए

    1408

    काठमाडौं–सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुनबान खोला जलविद्युत् आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।
    सम्झौता पत्रमा आयोजना प्रवर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष सुशील पोखरेल र नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरे । २० मेगावाट क्षमता रहेको आयोजना म्याग्दीको मुडी गाउँपालिकामा छ ।
    सम्झौता अनुसार आयोजनाबाट उत्पादित बिजुली विद्युत प्राधिकरणले हिउँद (पुसदेखि चैतसम्म) मा ८ रुपैयाँ ४० रुपैया र वर्षात्मा (वैशाखदेखि मंसिरसम्म) ४ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरले खरिद गर्नेछ ।
    पोखरेलले दशैंलगत्तै आयोजना स्थलसम्मको पहुँच मार्ग निर्माण सुरु गर्ने बताए । आयोजनास्थलसम्म पुग्न म्याग्दीको खारादेखि २२ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ । कुनबान खोलामा बहने पानीबाट बिजुली निकालिने उक्त आयोजनाको बाँध म्याग्दीको मुदी गाउँपालिकाको दोभानमा निर्माण हुनेछ ।
    यस आयोजनाले वार्षिक ११५ दशमलव ५१ गिगावाट विद्युत् उत्पादन गर्नेछ । यसले वर्षात्मा १७.५५ गिगावाट र हिउँदमा ९७.९६ गिगावाट विद्युत उत्पादन गर्ने प्रवर्धक सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले जानकारी दिए । आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो प्रशारण लाइन हुँदै डाँडाखेतस्थित विद्युत् प्राधिकरणको प्रस्तावित १३२ केभीए सबस्टेसनमा ल्याएर जोडिने छ ।
    आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ हुने प्रवर्धक कम्पनीले अनुमान गरेको छ ।
    आयोजनाले ४ वर्षभित्र निर्माणकार्य पूरा गर्ने लक्ष लिएको छ । सन् २०२४ को फेब्रुअरीदेखि आयोजनाबाट ब्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने कम्पनीको लक्ष छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याएको छ ।

    -कारोबार