जनतालाई अहिलेसम्म अन्धकारमा राख्नेलाई कारबाही होला ? पूर्व कार्यकारी निर्देशकहरू र प्रणाली सञ्चालन विभागका पूर्वप्रमुख शंकाको घेरामा

    2337

    काठमाडौं । तिहारअघिसम्म दैनिक ७ घण्टा अघोषित रूपमा लोडसेडिङ थियो । नेपाल विद्युत् प्राधिकरणले तिहारभर सकेसम्म लोडसेडिङ हुन नदिने बताउँदै योजना अघि सार्यो, सफल पनि भयो ।  त्यसपछि प्राधिकरणले काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रेका बनेपा, धुलिखेल र पाँचखालमा सकेसम्म लोडसेडिङ हुन नदिने बतायो । प्राधिकरणको यो योजना करिब २० दिनदेखि कायमै छ, सफल पनि भएको छ । प्राधिकरणले यी ठाउँमा तिहारदेखि लोडसेडिङ गरेको छैन । उपत्यकाबाहिर पनि दिनको दुई घण्टामात्र लोडसेडिङ भएको छ ।  सामान्यतः मंसिर–वैशाखसम्म सुख्खा याम मानिन्छ । यो समयमा गत वर्ष १४ घण्टासम्म लोडसेडिङ हुने गथ्र्यो । नेपाल विद्युत् प्राधिकरणले चुहावट रोक्ने, भारतबाट २४० मेगावाट विद्युत् आयात गरेर पनि यो वर्ष मुलुकलाई लोडसेडिङमुक्त राख्ने तयारी थालेको छ । प्राधिकरणको यो कामसँगै अहिले सबैतिर अहिलेसम्म मुलुकलाई किन र कुन उद्देश्यले अन्धकारमा राखिएको थियो ? यसरी अन्धकारमा राख्नेलाई ऊर्जा मन्त्रालयले कारबाही गर्छ त भन्ने आम चासोको विषय बनेको छ । त्योसँगै प्राधिकरणको योजना पुस महिनाभर पनि अडिग रहन सक्ला भन्ने अर्कोतर्फबाट प्रश्न उठिरहेका छन् । यो दुवैको चेपुवामा ऊर्जा मन्त्रालय  र विद्युत् प्राधिकरण परेको छ ।  सुख्खा याममा पनि मुलुकलाई लोडसेडिङमुक्त राख्न सकिने रहेछ भने वर्षा याममा कुन उद्देश्यका लागि लोडसेडिङ गरिएको रहेछ भन्ने प्रश्न पनि यतिबेला उठेको छ । मन्त्रालयले यी सबै प्रश्नको उत्तर कामले नै दिने प्रयास गरेको स्रोतले जानकारी दियो । प्रणालीमा गत वर्षभन्दा आपूर्तिमा फरक नभएको प्राधिकरणले जनाएको छ । भारतबाट आयात गरिएको बिजुली र २५ मेगावाटको माथिल्लो मस्र्याङ्दी थप भएको छ । तर, वर्षमा सय मेगावाट बिजुलीको माग पनि बढ्ने गरेको प्राधिकरणले जनाएको छ । मन्त्रालयले गरेका काम र योजनाका बारेमा ऊर्जामन्त्री जनार्दन शर्माले शनिबार चितवनको माडीमा भएको कार्यक्रममा पनि केही कुरा सार्वजनिक गरेका छन् । उनले आफ्नो भनाइलाई प्रेस नोट भन्दै फेसबुकमा समेत पोष्ट गरेका छन् । उनले करोडौं रुपैयाँको चलखेलमा मुुलुकलाई अन्धकारमा राखिएको समेत दाबी गरेका छन् । उनले यसरी अनियमितता गरेर लोडसेडिङमा राख्नेलाई कारबाहीको दायरामा ल्याउने संकेत पनि गरेका छन् ।  लोडसेडिङ नगर्नुपर्ने अवस्थामा पनि गरेको देखिएको भन्दै मन्त्री शर्माले लोडसेडिङ हुनुको कारण ऊर्जा मन्त्रालयले चाँडै सार्वजनिक गर्ने समेत बताए । “लोडसेडिङ नहुने समयमा पनि भएको पाइएको छ” उनले आफ्नो फेसबुकमा राखेको प्रेस नोटमा भनेका छन् । “त्यसबारे अहिले म केही भन्न चाहन्नँ, चाँडै नै आधिकारिक विवरण सार्वजनिक गर्छु,” ऊर्जामन्त्री शर्माले भनेका छन्, “जनतालाई १४ घण्टासम्म बिजुलीविहीन बनाएर राखेको भए मैले पनि करोडौं कमाउँथे हुँला तर म त्यस्तो अभियानमा लाग्दिनँ ।” उनले यसअघि विद्युत् प्राधिकरणका उच्च तहका कर्मचारी सरुवा गर्दा ४० लाखसम्म असुल्ने गरिएको जानकारी पनि आफूसमक्ष आएको बताए । “घूसखोरी र आर्थिक चलखेलका कारण विगतमा सिंगै मुुलुकलाई अन्धकारमा राख्ने गरिएको रहेछ,” उनले भनेका छन् । उनले आफूले कुलेखानी चलाएर लोडसेडिङ घटाएको भन्ने आरोपको पनि खण्डन गरे । दैनिक पिक आवरमा ४५ मिनेट मात्रै कुलेखानी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । सुख्खायाम सुरु हँुदा पनि काठमाडांै उपत्यका लोडसेडिङ मुक्त भएको र उपत्यका बाहिर बढीमा दैनिक २ घण्टासम्म मात्रै लोडसेडिङ भइरहेको छ ।   मन्त्रालय उच्च स्रोतका अनुसार विगतका दिनमा लोडसेडिङ गरिनुको कारण, सम्भावित आर्थिक चलखेलका बारेमा अहिले आन्तरिक अनुसन्धान गरिरहेको छ । यसबारेमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिवेदन लिने काम गरिरहेको स्रोतले जानकारी दियो । “अहिले यसबारेमा अध्ययन, अनुसन्धान भइरहेको छ,” मन्त्रालय उच्च स्रोतले भन्यो, “एउटै उद्योगलाई ४० मेगावाटसम्म बिजुली उपलब्ध गराएर ठूलो आर्थिक चलखेल गरिएको रहेछ ।” यसबाहेक वितरण प्रणालीमा अनियमितता गर्नेहरुको पनि खोजि गरिएको स्रोतको दाबी छ । लोडसेडिङ गर्नुको कारण पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढेमा पूर्व कार्यकारी निर्देशक र प्रणाली सञ्चालन विभागका पूर्वप्रमुख पर्न सक्ने मन्त्रालय स्रोतले जानकारी दियो । “लोडसेडिङ गर्ने कतिपय निर्णय पूर्वकार्यकारी निर्देशकबाट भएको पाइएको छ,” स्रोतले भन्यो, “आर्थिक लाभ लिएर कतिपय उद्योगलाई २४ सै घण्टा बत्ती दिएको पाइएको छ । यसमा चलखेल नभए के हुन्छ त ?” पिक आवरमा समेत आर्थिक लाभ लिएर उद्योगलाई ४० मेगावाटसम्म बिजुली दिएर उपत्यकालाई लोडसेडिङमा राखेको पाइएको छ । यस्तै उपत्यकामा विद्युत वितरणमा सन्तुलन कायम नगरेको, आर्थिक चलखेलका आधारमा विद्युत् वितरण गरेको जस्ता उजुरी कार्यकारी निर्देशकसमक्ष अहिले परेका छन् । वर्षात्मा सबै आयोजना पूर्ण क्षमता र भारतबाट साढे ३ सय मेगावाटसम्म बिजुली आयात हुँदा पनि दैनिक ७ घण्टाको हाराहारीमा लोडसेडिङ भइरहेको थियो ।  प्राधिकरणले जनवरी १ देखि २४० मेगावाट बिजुली भारतबाट ल्याएर मुलुकभर लोडसेडिङ नगर्ने योजना अघि सार्दै तिव्र रूपमा काम अघि बढाएको छ । –

    Source: Baahrakhari