निर्णय नगरी ६ जलविद्युत् आयोजना विभागमा फिर्ता -प्रतिस्पर्धामा नलैजाने सरकारको संकेत

    2638

    प्रतिस्पर्धाबाट निर्माणमा लैजाने तयारी गरेको ६ वटा जलविद्युत् आयोजनाको प्रस्ताव  सरकारले निर्णय नै नगरी आइतबार विद्युत् विकास विभागमा फिर्ता पठाएको छ ।
    ९७ मेगावाट क्षमताका छ वटा आयोजना प्रतिस्पर्धाबाट अघि बढाउन विभागले गत वर्ष भदौमा प्रस्ताव तयार गरेको थियो । सो प्रस्ताव ऊर्जा मन्त्रालयका सचिवमा नपुगी विभागमै फिर्ता भएको छ । विभागले प्रतिस्पर्धामा लैजाने ऊर्जासचिवमार्फत निर्णय गर्नेगरी प्रस्ताव तयार गरेको थियो ।
    सरकारले गत वर्ष छवटा आयोजना प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई बनाउन दिने र बाँकी दुईवटा आयोजना जनताको जलविद्युत् योजनाअन्तर्गत अघि बढाउने तयारी गरेको थियो । यसलाई बजेटमा समेत राखिएको थियो ।
    विभागले ६.२ मेगावाटको बुढीगंगा, २० मेगाटको इनखु, १५ मेगावाटको सिवा, ५ मेगावाटको हेवा, २३.५ मेगावाटको तल्लो हाङु र २७ मेगावाटको खिम्ती २ आयोजनालाई प्रतिस्पर्धाबाट निर्माणको जिम्मा दिने तयारी गरेको थियो । यीमध्ये १२ मेगावाटको मादी र १५ मेगावाटको माइवा आयोजना जनताको जलविद्युत्अन्तर्गत निर्माणका लागि भनेर प्रस्ताव गरिएको थियो । खिम्ती २ आयोजना एक सहकारीलाई दिने तयारी गरेको छ ।
    यी आयोजना पनि बढी रकम कबोल गर्ने लगानीकर्तालाई दिने गरी विभागले बोलपत्रको प्रस्तावसमेत तयार गरी स्वीकृतिका लागि ऊर्जा सचिवमा पेस गर्ने भनिए पनि त्यहाँसम्म नपुगी फिर्ता आएको विभागका एक अधिकारीले बताए ।
    “मन्त्रालयको निर्देशनअनुसार छवटा आयोजना प्रतिस्पर्धामा लैजान विभागले प्रस्ताव तयार गरेको थियो तर फिर्ता भयो,” ती अधिकारीले भने,  “यही अस्थिर नीतिका कारण जलविद्युत् बन्न नसकेको हो ।” विभागले प्रतिस्पर्धाविना अब आयोजना दिन फिर्ता पठाएको हुन सक्ने अनुमान ती अधिकारीको छ । अहिले पहँुचका आधारमा लाइसेन्स वितरण हुने र खारेज हुने गरेकाले निर्णय नभई फिर्ता भएको ती अधिकारीको तर्क छ  ।
    यसअघि सरकारले २ सय १० मेगावाट क्षमताका ६ वटा आयोजना प्रतिस्पर्धाबाट निर्माणको जिम्मा दिएको थियो । छवटा आयोजना प्रतिस्पर्धामा लैजाँदा सरकारलाई ४५ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो । सोही प्रारूपमा थप छवटा आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिएको थियो । दुई वर्षअघि प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई हस्तान्तरण भएका आयोजनाहरूमा सोलु, तल्लो सोलु, मायाखोला, खारे, मेवा र सिंगटी हुन् ।
    सरकारले गरेको सम्भाव्यताको अध्ययनअनुसार प्रतिस्र्धामा लैजान लागेको आयोजनाहरूको जडित क्षमता ९७ मेगावाट छ । यस्तै सरकारले गरेको प्रारम्भिक अध्ययनअनुसार यी आयोजनाको अनुमानित लागत करिब १७ अर्ब रुपैयाँ (२२ करोड अमेरिकी डलर) छ । यी सबै विद्युत् आयोजना नदीको बहावमा आधारित रहेका छन् । अध्ययनअनुसार यी आयोजनाबाट ७ सय ३० गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ ।
    सरकारले आयोजनाको प्रारम्भिक अध्ययन मात्र गरेकाले आयोजनाको क्षमता र लागत बढ्ने सम्भावना छ । विद्युत् विकास विभागले दिएको जानकारीअनुुसार बूढीगंगा बाजुरा, इन्खु र तल्लो हाङु सोलुखुम्बुमा, सिवा ताप्लेजुङ र खिम्ती रामेछाप जिल्लामा पर्छ ।
    यसअघि पनि ऊर्जाले तल्लोहुङु र खिम्तीलगायत अन्य ६ आयोजनाहरुलाई प्रतिस्पर्धामा लगेकोमा यी दुवै आयोजनामा प्रवद्र्धकहरूले भाग लिएका थिएनन् ।

    प्रस्तुति: कारोबार