लोडसेडिङ १२ घण्टामा रोक्ने तयारी

    2312

    सरकारले भारतबाट थप बिजुली आयात, थर्मलप्लाट सञ्चालन र विद्युत् चुहावट घटाएर हिउँदमा लोडसेडिङ दैनिक १२ घण्टामा सीमित राख्ने तयारी गरेको छ ।
    विद्युत् प्राधिकरणले हिउँदमा दैनिक २१ घण्टासम्म लोडसेडिङ हुने भयावह अवस्था प्रक्षेपण गरेपछि सरकारले विराटनगर र हेटौंडाका थर्मल प्लान्ट सञ्चालन गरी भारतबाट बिजुली किन्ने र ३ प्रतिशत चुहावट घटाउने योजना अघि सारेको हो ।
    “यससम्बन्धी कार्ययोजना तयार गर्न प्रधानमन्त्री बाबुराम भट्टराईबाट निर्देशन आएको छ,” ऊर्जासचिव हरिराम कोइरालाले भने, “भारतबाट बिजुली आयात गर्दा हुने नोक्सानी र थर्मल प्लान्ट सञ्चालनका लागि अनुदान दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”
    भारतबाट थप १ सय मेगावाट बिजुली आयात गर्न कुसाहदेखि दुहवीसम्मको १५ किलोमिटर लामो १३२ केभी प्रसारण–लाइन मंसिरसम्म निर्माण पूरा गरिने सचिव कोइरालाले बताए । प्रसारण–लाइनका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन सकिएको जानकारी दिँदै उनले अब तत्काल निर्माण थालिने बताए । कटैया–दुहबी प्रसारण–लाइनबाट ७५ मेगावाटसम्म बिजुली आयात हुने गरेको छ ।
    कोइरालाका अनुसार थप बिजुली आयातका लागि नेपालस्थित भारतीय दूतावासमार्फत पहल सुरु भइसकेको छ । भारत थप बिजुली दिन सकारात्मक भएको जानकारी उनले दिए । गत हिउँदमा प्राधिकरणले भारतबाट १ सय ४५ मेगावाटसम्म बिजुली आयात गरेको थियो । अहिले पनि विभिन्न सात नाकाबाट गरी १ सय २५ मेगावाट आयात गरिरहेको छ । यो वर्ष भारतबाट ३५ करोड युनिट बिजुली थप आयात गरेर १ अर्ब ५ करोड युनिट पु¥याउने तयारी उसको छ ।
    त्यस्तै, विराटनगरस्थित मल्टिफ्युल प्लान्ट तीन महिनामा मर्मत सम्पन्न गरी विद्युत् उत्पादन गर्ने योजना छ । विश्व बैंकको सहयोगमा यो प्लान्ट मर्मत भइरहेको छ । प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा यो प्लान्ट सञ्चालन हुने कोइरालाले बताए । उनका अनुसार ३९ मेगावाट क्षमताको प्लान्टबाट मर्मतपछि ३० मेगावाट बिजुली उत्पादन हुनेछ ।
    थर्मल प्लान्टबाट बिजुली उत्पादन गरेर बिक्री गर्दा प्राधिकरणलाई प्रतियुनिट २४ रुपैयाँ नोक्सान हुन्छ । डिजेल र फर्निस आयलको भाउ बढेकाले थर्मल प्लान्टको बिजुली अझ महँगो हुनेछ । एक लिटर इन्धनबाट ३ युनिट बिजुली उत्पादन हुन्छ ।
    प्राधिकरणले यो वर्ष विद्युत् चुहावट ३ प्रतिशत घटाएर २४ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । गत वर्ष २९ प्रतिशत रहेकोमा २ प्रतिशत घटेको थियो । ३ प्रतिशत चुहावट रोकिँदा प्राधिकरणलाई थप ७५ करोड रुपैयाँ प्राप्त हुन्छ । चुहाट घटाउनका लागि बजेट तयार गर्न प्राधिकरणलाई निर्देशन दिइएको सचिव कोइरालाले बताए ।
    भारतबाट थप बिजुली आयात नभए, विराटनगर तथा हेटौंडाका थर्मल प्लान्ट सञ्चालन नभए र कुलेखानीको जलाशय नभरिए आगामी हिउँदमा दैनिक २१ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ ।
    विद्युत्को माग बर्सेनि ८० मेगावाटका दरले बढ्ने गरेको छ । यो माग सम्बोधन हुने गरी विद्युत् आयोजना नबन्दा नागरिक लामो समय अँध्यारोमा बस्न बाध्य छन् । राष्ट्रिय प्रसारण प्रणालीमा अघिल्लो वर्ष ४ र गत वर्ष ८ मेगावाटमात्र विद्युत् थप भएको छ । यो वर्ष ४० मेगावाट विद्युत् थप हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।
    सरकारले हालसम्म १६ हजार ३ सय मेगावाट क्षमताका आयोजनाको सर्वेक्षण लाइसेन्स जारी गरिसकेको छ । तीमध्ये १० प्रतिशतमात्र विद्युत् उत्पादन भए १ हजार ६ सय मेगावाट थप भई देश लोडसेडिङमुक्त हुन्छ ।
    प्राधिकरणका अनुसार चालू वर्ष बिजुलीको माग बढेर १ हजार १ सय ६३ मेगावाट पुग्नेछ । गत वर्ष १ हजार ५६ मेगावाट पुगेको थियो । हाल ९ सय ७५ मेगावाट हाराहारीमा माग छ । अझै ३ सय ८० मेगावाट अपुग भएपछि दैनिक ५ घण्टा लोडसेडिङ भइरहेको छ ।