प्राधिकरणले पिपिए दरखास्त शुल्क बढाउने

    2321

    काठमाडौं, ६ असोज

    NEA_Buldingविद्युत् प्राधिकरणले २५ मेगावाटसम्मका जलविद्युत् आयोजनासँग विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गर्दा लिने दरखास्त शुल्क बढाउने भएको छ । २५ मेगावाटसम्मका आयोजनासँग पिपिए गर्न कार्यविधि बनाउँदै प्राधिकरणले दरखास्त दस्तुर बढाउन लागेको हो ।

    सरकारले यसअघि जलविद्युत् आयोजनाको लाइसेन्स शुल्क पनि बढाएको थियो ।
    पिपिए कार्यविधि बनाउन प्राधिकरणले सञ्चालक लक्ष्मणप्रसाद अग्रवालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले २५ मेगावाटसम्मका आयोजनाले पिपिएका लागि प्राधिकरणमा दरखास्त दिँदै शुल्क बुझाउनुपर्ने व्यवस्थासहितको मस्यौदा तयार पारेको छ ।
    ‘पिपिएलाई प्रभावकारी रूपमा अगाडि बढाउन र जलविद्युत् उत्पादनमा सक्षम प्रवद्र्धक छनोट गर्न पिपिए दरखास्त बढाउन प्रस्ताव गरिएको हो,’ समितिका एक सदस्यले भने ।
    समितिले १ मेगावाटका लागि ७५ हजार, १–५ मेगावाटका लागि १ लाख ५० हजार, ५–१० मेगावाटका लागि ३ लाख र १०–२५ मेगावाटका लागि ४ लाख ५० हजार रुपैयाँ पिपिए दरखास्त तोक्न लागेको छ ।
    यसअघि ५ मेगावाटसम्मका लागि ७५ हजार, ५–१० मेगावाटका लागि १ लाख ५० हजार र १०–२५ मेगावाटका लागि ३ लाख र २५ मेगावाटमाथि ४ लाख ५० हजार रुपैयाँ लिँदै आएको छ ।
    यसलाई प्राधिकरणले ‘प्रोसेसिङ फि’ भन्दै आएको छ । अहिले प्रक्रिया अगाडि बढेपछि ६० प्रतिशत र पिपिएको मस्यौदा स्वीकृत हुनासाथ ४० प्रतिशत प्रवद्र्धकले प्राधिकरणमा प्रोसेसिङ फि तिर्दै आएका छन् ।
    तर, समितिले नयाँ पिपिएका लागि निवेदन दिँदा नै शुल्क तिर्ने व्यवस्थाको प्रस्ताव गरेको छ । पिपिए गर्ने तर आयोजना निर्माण नगर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले त्यसलाई नियन्त्रण गर्न दस्तुर बढाउन लागेको हो ।
    समितिका संयोजक अग्रवालले कार्यविधि बनाउन सरोकारवालासँग छलफल भइरहेको बताए । ‘सबैलाई मान्य हुने कार्यविधि बनाउन छलफल गरिरहेका छौँ, केही दिनमै यसलाई टुंगो लगाउँछौँ,’ उनले भने ।
    प्रवद्र्धकले पिपिए गर्दा प्रतिमेगावाट ६ लाख रुपैयाँ कार्यसम्पादन जमानत (परफर्मेन्स बन्ड) राख्नुपर्ने व्यवस्था छ । तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसके परफर्मेन्स जफत हुने प्रावधान छ । यसअघि १८ महिनाभित्र वित्तीय व्यवस्थापन गर्न नसक्ने कैयौँ आयोजनाको पिपिए खारेज गर्दै प्राधिकरणले परफर्मेन्स बन्ड जफत गरिसकेको छ ।
    २५ मेगावाटसम्मका आयोजनाका लागि प्राधिकरणले हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसा पिपिए दर दिँदै आएको छ । विद्युत् उत्पादन सुरु भएपछि ५ वर्षसम्म वार्षिक ३ प्रतिशत मूल्यवृद्धि प्राधिकरणले दिँदै आएको छ । पाँचपटकसम्म मूल्यवृद्धि पाएपछि पिपिए दर हिउँदमा ९ रुपैयाँ ६६ पैसा र वर्षामा ५ रुपैयाँ ५२ पैसा पुग्ने प्राधिकरणले जनाएको छ ।
    अग्रवाल नेतृत्वको समितिले पिपिए चार चरणमा सम्पन्न गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि ९९ सय दिन लाग्ने बताइएको छ । दरखास्त अध्ययन, प्राविधिक अध्ययन तथा पुनरावलोकन, कनेक्सन एग्रिमेन्ट, प्रभाव मूल्यांकन र पिपिए सम्झौता ९९ सय दिनमा गरिसक्ने प्राधिकरणले जनाएको छ । यसअघि पनि सोही प्रकारको व्यवस्था थियो ।

    प्रस्तुति: नयाँ पत्रिका